काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । नियमित केन्द्रीय समिति बैठक सम्पन्न भएको एक महिनामै आकस्मिक बैठक बोलाएको हो । जेनजी विद्रोह पछिको पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण, विचार मिल्ने वामपन्थीबिच एकता र ध्रुवीकरण लगायत विषयमा निर्णय लिन बैठक बोलाइएको जनाइएको हो ।

माओवादी केन्द्रसँग एकताका लागि प्रारम्भिक छलफल भए पनि ठोस रूपमा अगाडि बढ्न नसकेको अवस्थामा खास गरी पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्न बैठक बोलाइएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
असोज २३ गते स्थायी समिति र २५ गते केन्द्रीय समिति बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बोलाइएको हो । भदौ २३ र २४ गते बैठक चलिरहँदा जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेसरएमाले गठबन्धन सरकार ढलेको थियो । सो आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गरी ध्वस्त बनाइएको थियो । नेकपाले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा उपयोग गर्ने नीति लिए पनि ठोस निर्णय गरेको थिएन ।
यसअघि नेकपाले भदौ १७ गतेदेखि २० गतेसम्म स्थायी समिति, भदौ २१ देखि २२ गतेसम्म पोलिटब्युरो र भदौ २३ देखि २६ गतेसम्म केन्द्रीय समिति बैठक सम्पन्न गरेको थियो ।














