काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार, आफन्त वा साथीभाइ लैजान नयाँ नियम लागू गरेको छ ।

अब स्पोन्सरको आम्दानी बलियो हुनुपर्ने र न्यूनतम मासिक तलब ४,००० देखि १५,००० दिरामसम्म तोकिएको छ । परिवारजन (बुबा-आमा, श्रीमान्रश्रीमती, छोराछोरी) लैजान स्पोन्सरको मासिक तलब कम्तीमा ४,००० दिराम चाहिन्छ ।
हजुरबा–हजुरआमा, दाजुभाइ-दिदीबहिनी, नातिनातिना, काका-काकी, मामा-फुपू जस्ता नातेदारका लागि ८,००० दिराम आवश्यक पर्छ । साथीभाइलाई भिजिट भिसामा लैजान भने १५,००० दिराम तलब चाहिन्छ ।
भिसा आवेदनमा नाता प्रमाणित कागजात, कम्तीमा ६ महिना म्याद भएको पासपोर्ट र फिर्ती टिकट पेस गर्नुपर्छ । युएईले यो नियम प्रवेश प्रक्रियामा पारदर्शिता र सुधारका लागि ल्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।











