महोत्तरी । आज कोजाग्रत पूर्णिमाको अवसरमा मिथिला क्षेत्र, विशेषगरी महोत्तरी लगायतका जिल्लाहरूमा नवविवाहित मैथिल दम्पतीको चुमाउनु परम्परा अनुसार विधिपूर्वक सम्पन्न भइरहेको छ ।

गत वर्षको कोजाग्रतदेखि अहिलेको अवधिमा विवाह भएका जोडीका लागि यो पहिलो चुमाउन अवसर हो ।
चुमाउनु परम्परा अन्तर्गत दुलही पक्षका आफन्तहरू ज्वाइँको घरमा पुगेर सगुन, वस्त्र, आभूषण र मिष्ठान्न परिकारसहित वर दुलहा को पूजन गर्छन्। यो मैथिल संस्कृतिमा ज्वाइँप्रति कृतज्ञता व्यक्त गर्ने पुरानो सामाजिक र सांस्कृतिक चलन हो, जसलाई विशेषगरी ब्राह्मण, कायस्थ र सोनार जातिमा मानिन्छ ।
पूर्वजहरूले कोजाग्रत पूर्णिमालाई शुभ दिन मानी घरजम सुरु गरेकी छोरीका परिवारप्रति कृतज्ञता प्रकट गर्न यो दिन रोजिएको मानिन्छ । यद्यपि पछिल्ला वर्षहरूमा यो परम्परा अत्यधिक खर्चिलो र आडम्बरिक बन्दै गएको बुद्धिजीवीहरू बताउँछन् ।
पहिले सामान्य सगुनमा सम्पन्न हुने यो विधि अहिले महँगो उपहार, दर्जनौँ पाहुनालाई भोज लगायतका कारणले दुलही पक्षका लागि आर्थिक भार बन्दै गएको छ । स्थानीयवासी र संस्कृतिविद्हरूले अब यो परम्परालाई सरल, सस्तो र सार्थक बनाउँदै लैजान सामाजिक सचेतना आवश्यक भएको उल्लेख गरेका छन् ।














