काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगले गर्नुपर्ने कामलाई समयबद्ध गर्न आयोगबाट सोमबार निर्वाचन कार्य तालिका स्वीकृत गरेको जनाएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट आज निर्वाचन कार्य तालिका स्वीकृत भएको छ । ’
स्वीकृत कार्य तालिका अनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । यस्तै पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने कार्य तालिका रहेको छ ।
यस्तै फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहने कार्य तालिका तय गरिएको छ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्द सूची पेस गर्ने कार्यक्रम आयोगले तय गरेको छ ।
‘निर्वाचनमा राजनीतिक दल एवं सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्य तालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मङ्सिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले सूचना दिएको छ ।














