कैलाली । गत भदौ २३ २४ गतेको जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका करिब एक हजार कैदीबन्दी पक्राउ परेका छन् ।

भदौ २४ गते जेनजीहरुको प्रदर्शनका क्रममा भागेका ९७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कैलाली सहितका विभिन्न कारागारबाट भागेका ९४१ र बाल सुधार गृह डोटीबाट भागेका ३६ गरेर ९७७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको जनाएको छ । सुदूरपश्चिमका नौ जिल्ला कारागार शाखा र एक बाल सुधार गृहबाट नभागेका २९६ जनासमेत गरेर अहिले एक हजार दुई सय ७२ जना कैदीबन्दी कारागारमा रहेका छन् ।
बाल सुधार गृह र विभिन्न कारागारबाट भागेका ४८१ जना कैदीबन्दीलाई हाल पनि फरार रहेका छन् । जेन्जी आन्दोलनका दिन कैलाली कारागारबाट ६६६ जना कैदीबन्दी भागेका थिए । जसमध्ये जम्मा ३४१ जना कैदीबन्दीलाई मात्रै नियन्त्रणमा लिएको छ ।
जिल्ला कारागार कन्चनपुरका ४५८ मध्ये ३४५, बझाङ्ग कारागारका ५३, डडेल्धुरा कारागारका ८० जना , बैतडी कारागारका ५९ ,दार्चुला कारागारका ६३ र बाल सुधार गृहका ३६ कैदीबन्दीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला कारागार डोटी बाजुरा र अछामबाट भने कुनै कैदीबन्दी भागेका थिएनन् । कतिपय कारागारबाट भागेका कैदीबन्दी आफै कारागार फर्किए पनि धेरैजसो कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर कारागार ल्याएको हो ।














