कायरो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न वार्ताकारहरूलाई ‘छिटो अघि बढ्न’ आग्रह गरेसँगै हमास, इजरायल र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरू सोमबार इजिप्टमा वार्ताका लागि भेला भएका छन् ।

इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा गाजामा लडाइँ अन्त्य गर्ने र बन्दीहरूलाई रिहा गर्ने ट्रम्पको प्रस्तावमा हमास र इजरायल दुवैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
वार्ताकारहरूले अप्रत्यक्ष वार्ताबाट आगामी छलफलका विषयहरू ट्ङ्गो लगाउने आशा गरेका छन् । स्मरण रहोस्, सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेको थियो भने यसको ठीक दुई वर्ष पछि युद्धविराम वार्ताका लागि मिति तय गरिएको छ ।
ट्रम्पको योजनामा हमासको निशस्त्रीकरणको परिकल्पना गरिएको भएपनि लडाकू समूहले यसलाई स्वीकार गर्ने सम्भावना कम देखिएको छ तर अन्य बुँदाहरूमा युद्धरत दुवै पक्ष सकारात्मक देखिएका छन् ।
प्रस्तावमा गाजा पट्टीबाट इजरायली सेनालाई पूर्ण रूपमा फिर्ता गर्ने पनि व्यवस्था छ तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइलाई सुरक्षित गर्दै ‘भित्र’ सेनाहरू पुनः तैनाथ गर्ने बताएका छन् ।
इस्लामिक समूहले रिहाइका लागि प्रस्ताव गरेका प्यालेस्टिनी कैदीहरूको नामलाई लिएर यसअघिका चरणको वार्ता पनि रोकिएको थियो ।
गत महिना दोहामा इजरायली आक्रमणमा समूहका अन्य नेताहरूसँग लक्षित भएका हमासका प्रमुख वार्ताकार खलिल अल–हयाले सोमबार कायरोमा इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग भेट गर्ने कार्यक्रम रहेको समूहका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए ।
अधिकारीहरूले कडा सुरक्षामा बन्द ढोकाभित्र भइरहेको वार्ताको रसदको बारेमा थोरै विवरण दिएका छन् । वार्ताले ‘अस्थायी युद्धविरामको मिति निर्धारण गर्ने’ प्रयास गर्ने हमासका अधिकारीले बताएका छन् । साथै वार्ताले योजनाको पहिलो चरणको लागि अवस्था सिर्जना गर्नेछ, जसमा गाजामा राखिएका ४७ बन्धकहरूलाई सयौँ प्यालेस्टिनी बन्दीहरूको बदलामा रिहा गरिनेछ ।











