काठमाडौं । लगातारको अविरल वर्षा र भारतीय पक्षले सीमामा रहेको बाँधको ढोका नखोल्दा रौतहटको सदरमुकाम गौरसहित दर्जनौँ सीमावर्ती गाउँहरू डुबानमा परेका छन् । बाढीको पानीले निकास नपाउँदा गौर र ईशनाथ नगरपालिकाका सयौँ घरहरू जलमग्न भएका छन्, जसले स्थानीयको जनजीवन कष्टकर बनेको छ ।

नेपाली पक्षले पटक-पटक अनुरोध गर्दा पनि भारतीय पक्षले बाँधको ढोका नखोलेपछि गौर क्षेत्र पूर्णरूपमा जलमग्न भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले भारतीय समकक्षी (डिएम) सँग पानीको सहज निकासका लागि बाँधका ढोका खोल्न आग्रह गरेका थिए । सोमबारदेखि नेपाली सुरक्षा अधिकारीहरूको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले उल्टै बाँध क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ ।
गौर नगरपालिकाका मेयर शम्भु साहले भारतीय पक्षसँग अनौपचारिक संवाद गरी ढोका खोल्न अनुरोध गरेका थिए र सामाजिक सञ्जालमार्फत पानीको निकास हुने आशा व्यक्त गरेका थिए । तर, भारतले ढोका नखोलेपछि स्थानीयवासीले सामाजिक सञ्जालमा भारतीय पक्षको चर्को आलोचना गरेका छन् । बाग्मती, लाल बकैया, झाँझ र चादी नदीमा पानीको बहाव उच्च हुँदा गौर, ईशनाथ, परोहा, गुजरा, र गढीमाईसहित आधा दर्जनभन्दा बढी पालिकाहरू प्रभावित भएका छन् ।
गौरमा मात्रै तीन फिटसम्म पानी जमेको छ । जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति र गौर नगरपालिका जस्ता प्रमुख सरकारी कार्यालयहरू डुबानमा परेका छन् । सशस्त्र प्रहरीको गौर भन्सारस्थित बीओपी, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी, सशस्त्र प्रहरीको ११ नम्बर गण र बेलबिछवाको बीओपी पनि डुबानमा परेका छन् ।
निरन्तर डुबानले गौर र ईशनाथका धेरै गाउँमा खानेपानीको चरम अभाव भएको छ । स्थानीयवासीले बाढीजन्य रोग तथा महामारी फैलने चिन्ता पनि बढेको छ । गौरबाट चल्ने सार्वजनिक यातायात पूर्णरूपमा ठप्प रहेका छन् । यसबीचमा भारतबाट नेपाल आउने यात्रुको उद्धार कार्य पनि चलिरहेको छ ।














