Logo
Logo

सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना


315
Shares

काठमाडौं । सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरेको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु ठाकुरका अनुसार, आयुर्वेद स्वास्थ्य केन्द्र वा औषधालय नभएका ठाउँहरूमा ‘नागरिक आरोग्य सेवा केन्द्र’का रूपमा सेवा विस्तार गरिएको हो ।

यी केन्द्रहरूमा एक जना कविराज तहका जनशक्ति रहनेछन्, जसले निःशुल्क आयुर्वेद औषधि र उपचार सेवा दिनेछन् । साथै, केही आरोग्य केन्द्रहरूमा योग शिक्षा पनि प्रदान गरिनेछ ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित सञ्चालन गरिएको यो अभियानअन्तर्गत, पहिले २३ प्रकारका औषधि मात्र दिइने गरिए पनि अब ३५ प्रकारका अत्यावश्यक आयुर्वेद औषधिहरू निःशुल्क उपलब्ध गराइने डा ठाकुरले जानकारी दिए ।

यी सेवा केन्द्रमार्फत कब्जियत, मधुमेह, उच्च रक्तचापजस्ता रोगहरूको उपचारका लागि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिनेछ ।

नेपालमा अहिले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद चिकित्सालय र केन्द्रीय तहमा नरदेवीस्थित आयुर्वेद अस्पताल तथा कीर्तिपुरको आयुर्वेद शिक्षण अस्पतालबाट समेत सेवा प्रदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्