गण्डकी । पोखरा पर्यटन परिषद्ले हालैको जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा भएको क्षतिको प्रारम्भिक प्रतिवेदन गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालसमक्ष बुझाएको छ।

प्रतिवेदनअनुसार पोखराका १० बढी होटल तथा व्यवसायिक प्रतिष्ठानमा करिब १ अर्ब ९२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
सबैभन्दा ठूलो क्षति होटल सरोबर (१ अर्ब) र बगैँचा रिसोर्ट (४० करोड) मा भएको उल्लेख छ। अन्य होटेल, इभेन्ट सेन्टर, पसल, बैंक र पर्यटकका व्यक्तिगत सामानमा समेत क्षति पुगेको परिषद्ले जनाएको छ।
परिषद्ले पर्यटन याम सुरु हुनै लाग्दा भएको घटनाले दीर्घकालीन असर पार्ने चेतावनी दिँदै, व्यवसायीलाई बचाउन तुरुन्त ‘जीवनरक्षा कर्जा’ जस्ता राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। साथै, पूर्वाधारतर्फको बजेट कटौती गरी पर्यटन प्रवर्द्धनमा लगानी बढाउन पनि माग गरिएको छ।














