Logo
Logo

जनगणना–२०७८ को तयारी शुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १६ माघ : राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । 



राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

योसँगै जनगणना–२०७८ को तयारीका लागि कानूनी आधारको शुरूआत भएको विभागले जनाएको छ । विसं १९६८ देखि शुरु भएको जनगणनाको यो १२औँ शृङ्खला हो । यस पटक सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ । 

हालसम्म छ वटा प्रदेशमा छलफल भइसकेको छ । कर्णाली प्रदेशमा भने छलफल कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ । तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय तहका वडास्तरसम्म सहकार्य गरिने निर्देशक लामिछानेले बताउनुभयो । 
(रासस)

प्रतिक्रिया दिनुहोस्