काठमाडौं । सरकारले हैजा नियन्त्रणका लागि बारा र पर्सा जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा, विश्व स्वास्थ्य संगठन डब्लुएचओ र युनिसेफको प्राविधिक सहयोगमा यो अभियान असोजदेखि कात्तिक महिनाभित्र सञ्चालन गरिनेछ ।
खोप अभियान अन्तर्गत पर्सा जिल्लाका सबै १४ वटा स्थानीय तह र बारा जिल्लाका ६ वटा स्थानीय तहमा एक वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई हैजाविरुद्धको खोप दिइने महाशाखाले जनाएको छ ।
गत भदौ ६ गते, पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुरली टोलबाट हैजाको संक्रमण देखिन थालेपछि अहिले सम्म बारा र पर्सा गरि १,६८५ जना हैजा संक्रमित फेला परेका छन् । रोगको फैलावट बढ्दै गएपछि सरकारले रोकथामका लागि खोप अभियान अघि सारेको हो ।
अभियानमा प्रयोग हुने खोप मुखबाट दिइनेप्रकारको हो र एक मात्रा मात्र दिनु पर्नेछ। यसअघि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा यस्तै हैजाविरुद्धको खोप अभियान सञ्चालन भइसकेको थियो ।














