मुस्ताङ । दसैँको बिदापछि मुस्ताङको उत्तरी कोरलानाका नाका अन्तर्गत रहेको न्हेचुङ भन्सार कार्यालय आज बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ ।

गत असोज १३ गते कर्मचारीहरू दसैँ मनाउन घर फर्किएपछि कार्यालय अस्थायी रूपमा बन्द भएको थियो । यद्यपि, दसैँ सकिए पनि आयात–निर्यातकर्ताका प्रतिनिधि अझै उपस्थित नभएकाले मालवस्तु जाँचपास प्रक्रिया सुरु हुन सकेको छैन, भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।
बिदाका कारण चीनबाट आएका मालवस्तु र विद्युतीय कारहरू न्हेचुङ भन्सारमा रोकिएका छन्। नाकामा अहिले मालवाहक र विद्युतीय कारहरूको चाप बढेको छ ।
दसैँ अघिसम्म कोरलानाका नाकाबाट रु २ अर्ब २ करोड ९६ लाख राजस्व संकलन भइसकेको थियो ।
यस अवधिमा चीनबाट भित्रिएको १,१०९ वटा विद्युतीय कारमध्ये ९६५ वटा गन्तव्यतर्फ भन्सार जाँचपास भएर पठाइसकिएको छ । त्यस्तै, ३७५ वटा मालवाहक गाडीहरू पनि जाँचपास भएका छन् ।
पहिले यो भन्सार कार्यालय मात्रै उपल्लो मुस्ताङका नागरिकहरूका लागि खुला हुँदा राजस्व संकलन सीमित थियो । तर, साउन–भदौमा रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि, भन्सार विभागले विकल्पका रूपमा कोरलानाका नाका प्रयोगमा ल्याएको८८ हो ।














