काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा थापाले वर्तमान नेतृत्वको म्याद नथपी मंसिरभित्र महाधिवेशन गर्न प्रस्ताव राखेका हुन् ।

देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदै । थापाले कार्यवाहक सभापति तोकेर महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् । हाल उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसिरहेको छ, जहाँ इतर समूहका नेता डा। शेखर कोइराला पनि सहभागी छन् । बैठकले असोज २६ गतेको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।
यसअघि, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले सभापति देउवालाई बुढानीलकण्ठस्थित निवासबाट बाहिर निकालेर कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागी १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको नभइसकेकाले बैठकमा उपस्थित नभएका जनाइएको छ । थापाको प्रस्तावले पार्टीभित्र नयाँ बहस सिर्जना गरेको छ, जसले महाधिवेशनको तयारी र नेतृत्व चयनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ ।














