काठमाडौं । जेनजी शहीद परिवार सङ्घर्ष समितिले बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै सरकारले शहीद परिवारलाई बेवास्ता गरेको भन्दै क्याबिनेटमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

समितिले शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई प्राथमिकतामा नराखेकोमा आक्रोश व्यक्त गरेको हो । शहीद श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईंले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूहले शहीद परिवारको पीडाप्रति कुनै चासो नदिएको गुनासो गरे ।
उनले विभिन्न मन्त्रालयमा पटक-पटक ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको र शहीद परिवारले ठूलो पीडा भोग्नुपरेको बताएका छन् । त्यस्तै, शहीद परिवारका कमल सुवेदीले वर्तमान सरकार शहीदको बलिदानबाट बनेको भए पनि प्रधानमन्त्री र मन्त्रीहरूले भेट्नसमेत समय नदिएको भन्दै रोष प्रकट गरे ।
उनले भने, ‘हाम्रा परिवारका सदस्यको रगतबाट यो सरकार बनेको छ, तर जेनजी समूहहरू आ-आफ्नै स्वार्थमा लिप्त छन् । हामीलाई कसैले सहानुभूति पनि दिएको छैन ।’
समितिले सरकारसँग तीन मन्त्रालयमा प्रतिनिधित्वको माग गरेको छ । जसअनुसार, श्रम तथा रोजगार मन्त्रालयका लागि शहीद विजय चौधरीका दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयका लागि शहीद इस्वत अधिकारीका आफन्त भोजविक्रम थापा र युवा तथा खेलकूद मन्त्रालयका लागि शहीद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरिएको छ । समितिले यी मागहरू सात दिनभित्र सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।














