काठमाडौं । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी कार्यक्षेत्र भित्र नपर्ने बताएको छ । गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले ओली र लेखकविरूद्ध परेको जाहेरी प्रहरीलाई नै फिर्ता गरिदिएको छ।

जाँचबुझ आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीबाट आयोगमा पठाइएको जाहेरी फिर्ता पठाइएको उल्लेख गरेको हो । भदौ २३ र २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउन माग गर्दै जेनजी पुस्ता आन्दोलनमा मृत्यु भएकाहरूका परिवारले जाहेरी दिएका थिए ।
मृतक रसिक खतिवडाका बुवा पुरूषोत्तम खतिवडासहित ४ जनाले असोज २१ गते प्रहरीमा जाहेरी दिएपछि उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको थियो ।
आयोगले फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन भन्ने ब्यहोरा विज्ञप्तिमा उल्लेख छ ।
















