Logo
Logo

अहंकारी ओलीः देश जल्दा न पश्चाताप, न त जिम्मेवारीबोध


3.7k
Shares

काठमाडौं । देशमा राजनीतिक अस्थिरता र आर्थिक संकट चरममा पुगेको बेला पनि नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहंकारको शिखरमा उभिएका छन् । जनताको पीडा बुझ्नेभन्दा पनि उनी आफ्नै शक्ति प्रदर्शन र वर्चस्व टिकाउने खेलमा व्यस्त देखिन्छन् ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबाट सबैभन्दा ठूलो क्षति एमालेले बेहोर्यो । आन्दोलनपछि पार्टीले सत्ता गुमायो । र, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट हेलिकप्टरमार्फत भाग्न बाध्य भए । नेपालको राजनीतिक इतिहासमा बहालवाला प्रधानमन्त्री भाग्नुपरेको यो पहिलो घटना हो ।

आन्दोलनका क्रममा पार्टी कार्यालयहरू, नेताहरूका निवास र संरचनामा आगजनी तथा तोडफोड भयो । एमालेका दर्जनौं नेताहरूको घर र निजी सम्पत्ति ध्वस्त पारिए । धेरैजसो नेता भूमिगत हुन बाध्य भए भने ओलीसहित केही नेता सेनाको सुरक्षामा रहनुपर्यो ।

तर यति ठूलो क्षति र ७५ जनाको ज्यान गएको आन्दोलनप्रति ओलीले आजसम्म श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छैनन् । पीडित परिवारप्रति संवेदना त टाढाको कुरा, उनी पार्टीकै कमजोरी स्वीकार गर्न पनि तयार छैनन् ।

नेतृत्व नछाड्ने संकेत
आन्दोलनपछि एमाले लथालिंग अवस्थामा पुगेको छ । नेताकार्यकर्ताको मनोबल खस्किएको छ । पार्टीभित्रैबाट ओलीको व्यवहार र निर्णयप्रति असन्तुष्टि बढ्दो छ ।

ओलीकै हठ र गलत रणनीतिको कारण जेन–जी आन्दोलनमा ठूलो मानवीय तथा भौतिक क्षति भएको निष्कर्षमा एमालेका धेरै नेता पुगेका छन् । त्यसैले अहिले उनलाई बिदा लिनुपर्ने आवाज तीव्र बनेको छ । तर ओली अडिग छन् । उल्टै उनले पार्टी विधान सम्मेलनमार्फत ७० वर्षको उमेर सीमा हटाएर आफूलाई आगामी नेतृत्वका लागि पुनः उपयुक्त बनाइसकेका छन् ।

आन्दोलनमाथि उल्टो आरोप
पार्टीकै नेताहरूले ओली तीव्र आलोचना गर्दै आएपनि उनले आफू जिम्मेवार नभएको दाबी गर्दै जेन–जी आन्दोलनलाई “षड्यन्त्रको उपज” करार दिएका छन् । उनी भन्छन्, ‘जनेजी आन्दोलन विदेशीको षड्यान्त्रमा एमाले र देशविरुद्ध रणनीतिक हमला भयो ।’

जेन–जी विद्रोहपछि पार्टीको औपचारिक बैठक समेत बोलाउन ढिलाइ गर्दै आएका ओलीले चर्किंदो दबाबपछि असोज २७ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन् । त्यसअघि २४ गते पदाधिकारी बैठक बस्ने तयारी गरिएको छ, जसमा केन्द्रीय एजेण्डा तय हुनेछ । तर यी दुवै बैठकमा ओलीलाई तीव्र आलोचना र दबाबको सामना गर्नुपर्ने निश्चितजस्तै देखिन्छ ।

हालैको पदाधिकारी बैठकमा पनि धेरै नेताहरूले ओलीको कडा आलोचना गर्दै राजीनामाको माग गरेका थिए । तर, ओलीले भने आफू नेतृत्वको सरकारले जेन–जी विद्रोहमा चरम दमन गरेको कुरालाई बेवास्ता गर्दै आन्दोलनमा घुसपैठ भएको दाबी गरिरहेका छन् । र, जेनजी अन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘हाहाहुहुको सरकार’ भन्दै ललकारिरहेका छन् ।

सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले मंगलबार गण्डकी, कर्णाली प्रदेश इन्चार्ज, अध्यक्ष र जिल्ला नेताहरूसँग भर्चुअल सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले भदौ २३ र २४ को आन्दोलनलाई “षड्यन्त्रको उपज” भन्दै आफू, एमाले र देशविरुद्ध रणनीतिक हमला भएको दाबी गरेका थिए ।

आज पनि भक्तपुरका गुण्डुमा ओलले देशमा लोकतन्त्र नभएका भन्दै आन्दोलनको आँधी तुफान ल्याउने भन्दै धम्की दिए । उनले प्रतिधिसभा पुनस्र्थापन गराएरै छाड्ने दाबीसम्म गर्न भ्याए । उनले भने, ‘‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनस्र्थापनाको माग गरौंला, संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुर्पयो फागुन २१ गते ? पर्खनु परेको छैन । हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ ।’

घमण्डले हरायो विवेक
१४ वर्ष जेल जीवन बिताएर राजनीतिमा प्रवेश गरेका ओली चारपटक प्रधानमन्त्री बने । तर, अहंकार र जिम्मेवारीको अभावले उनको राजनीतिक यात्रा सफल नभई विफलताको प्रतीक बन्यो । देश जलिरहँदा पनि उनले आत्ममन्थन नगरी बाहिरी शक्तिलाई दोष लगाउनु दुःखद छ ।

अहंकारी ओलीको राजनीति देशका घाउमाथि नुन छक्र्ने काम मात्र बन्यो । उनको हठ, घमण्ड र आत्ममोहकै कारण देश आज अराजकता र निराशाको गर्तमा छ । तर ओलीमा न पश्चाताप छ, न जिम्मेवारीबोध । जब नेतृत्व घमण्डले अन्धो हुन्छ, तब देश अराजकता र निराशाको खाडलमा धकेलिन्छ । अहिलेको नेपाल त्यसैको ज्वलन्त उदाहरण हो ।

जेन–जी विद्रोहले ओलीको राजनीतिक साम्राज्य ढल्यो, तर देशमा अराजकता उस्तै छ । यदि ओलीजस्ता नेताहरूले अहंकार त्यागेर आत्मसमिक्षा गरेनन् भने नेपालको भविष्य अझ अन्धकारमय हुनेछ । अब जनताले नेताबाट श्रद्धा होइन, जिम्मेवारी माग्नुपर्ने बेला आएको छ । नत्र यो अराजकता अनन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्