मलगंवा । जेनजीले भ्रष्टाचार, तस्करी र बेथितिका बिरुद्ध आन्दोलन गरी सरकार परिवर्तन गरे पनि सर्लाहीमा भन्सारछली चोरी तस्करी नियन्त्रण हुनसकेको छैन, बरु झन् बृद्धि भएको छ । भ्रष्टाचार र तस्करी नियन्त्रण गर्ने र राजस्व असुली बृद्धि गर्ने जेनजीको बिद्रोहपछि बनेको सरकारको नीतिलाई मातहतका निकायले नै पालना गर्न नसकेको सीमाबाट हुँदैआएको तस्करीले पुष्टि गर्दछ ।

सर्लाहीका संग्रामपुर, फेनहारा, बलरा, बहादुरपुर, छतौना लगायतका सीमा नाकाबाट सशस्त्र प्रहरी बलका गुल्म र बीओपीका इन्चार्जकै सेटिङमा तस्करीको लाइन चलाइएको छ ।
नेपालबाट चिनियाँ स्याउ, नास्पाती र आँपका अलावा कवाडी र मदिरा यी नाकाबाट भारत तस्करी हुने गरेको छ । तिहार आएकाले भारतबाट पटाकादेखि कपडा र भाँडाकुडा नेपालमा तस्करीको माध्यमबाट भित्रने गरेको छ । सशस्त्रका गुल्म र बीओपीका इन्चार्जदेखि गणका एसपी हुँदै बाहिनीका डीआईजीसम्म सेटिङ मिलाएर तस्करी हुँदैआएको छ ।
बलरा नाकाबाट बुद्धु यादवले तिहारको मौकामा भारतबाट पटाकाको तस्करी गरी नेपालतर्फ ल्याउने लाइन पाएका छन् ।
त्यसैगरी, राजेश कुशवाहाले फेनहारा नाकाबाट कपडाको तस्करी गर्दैआएका छन् । छतौनाबाट लक्ष्मी साहले भाँडाकुडा र सन्तोष सिंहले चल्लाको तस्करी गर्ने लाइन पाएका छन् ।
नवीन चौधरी र उमेश साहले बलरा नाकाबाट चिनियाँ स्याउ, नास्पाती र आँप दशैंको फुलपातीदेखि नै ब्यापक रुपमा भारततर्फ तस्करी गरिरहेको स्रोत बताउँछ ।
उनीहरुले दशैंको अष्टमीदेखि दशमीसम्म ३५ गाडी स्याउ, आँप र कपडा नारायणपुरबाट भारततर्फ तस्करी गर्न सफल भएका थिए । उनीहरुले त्यसपछि पनि उमेश साहको सुकनाहामा राखेको गोदामबाट भारततर्फ स्याउ तस्करी गर्दैआएका छन् ।
राजेश ठाकुर, बिजय यादव र नवीन चौधरीले बहादुरपुर र मधुवनीबाट चिनियाँ स्याउ, नास्पाती र आँप भारततर्फ ठूलो मात्रामा तस्करी गर्दैआएका छन् । उनीहरुले भारतबाट नेपालतर्फ कपडा तस्करीको माध्यमबाट भन्सार नतिरी ल्याउने गरेका छन् । उमेश साह र सन्तोष साहले पनि नारायणपुर नाका हुँदै भारतबाट नेपालतर्फ कपडाको तस्करी गर्ने गरेका छन् ।
नवीन चौधरी र बिजय यादवले मधुवनीको नारायणपुर र सर्लाहीको बहादुरपुरबाट भारततर्फ कवाडीको तस्करी गर्ने गरेको स्रोत बताउँछ । बिजय यादवले मधुवनीबाट मदिरा पनि भारतको बिहारमा तस्करी गर्दैैआएका छन् ।
यसैबीच, लामो समयदेखि कार्यरत घुमुवा सहायक हवल्दार रोशन मिश्र रौतहटमा बरामद भएको तस्करीको चिनी लुकाएपछि गएको भदौमा सशस्त्र मुख्यालयमा तानिएका थिए । तर दशैंमा ३ दिन सर्लाही आएर मिश्रले सीमा बिभागका एआईजी गणेश ठाडामगरको नाममा समेत उल्लेखित ब्यापारीहरुबाट कुस्त असुली गरेको आरोप छ । मिश्रले लामो समयदेखि सर्लाहीदेखि रौतहटमा तस्करीको नेटवर्क चलाउँदैआउका छन् ।
दर्जाले जुनियर भए पनि सशस्त्र प्रहरी बलको मुख्यालयको अनुगमनका डीएसपी सुदिप रेग्मीका विश्वासपात्र घुमुवाका रुपमा मिश्रले सर्लाहीदेखि रौतहटसम्म सेटिङ गर्दै तस्करीको नेटवर्क चलाउने गरेको आरोप छ ।
तस्करको समूहले नेपाल प्रहरीका चौकीका इन्चार्ज र जिल्लाका हाकिमसम्म पनि मासिक रुपमा टेण्डर बुझाएर तस्करीको लाइन चलाउँदैआएका छन् ।









