काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका-७, भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन् । आज बिहान करिब ९ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र. ०१-००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आएको ना.८ ख २५९१ नम्बरको टिपर एकआपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको छ ।
घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य छ र कसैको अवस्था गम्भीर छैन । दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले बस र टिपर हटाएर सडक सञ्चालनमा ल्याइसकेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।














