काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी २१ फागुनको चुनावको तयारीमा जुटेको छ । प्रवक्ता मनीष झाका अनुसार उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति गठन भएको छ ।

रास्वपाले चुनावी वातावरण बनाउन र वाचापत्र तयारीमा तीव्रता दिएको हो । यता, ठुला दल कांग्रेस र एमाले भने चुनावप्रति शङ्कालु छन् । एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डामा केन्द्रित छ भने कांग्रेसले औपचारिक निर्णय लिएको छैन ।
माओवादी केन्द्र भने चुनावको पक्षमा उभिएको छ । विघटित प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले भने चुनावी रणनीतिमा जोड दिएको छ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यले कांग्रेस र एमालेलाई पुरानो संसदीय अङ्कगणितमा नअल्झन सुझाएका छन् ।
सामाजिक सञ्जालमा उनले पुराना दललाई नयाँ जनमत लिन आग्रह गर्दै पुरानो अङ्कगणितको दम्भले अस्तित्व समाप्त हुन सक्ने चेतावनी दिएका छन् । असोज ७ को केन्द्रीय समिति बैठकले चुनाव केन्द्रित हुने निर्णय गरेको थियो । असोज २२ को सचिवालय बैठकमा रणनीतिमाथि छलफल गरेको थियो । आज वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकमा पनि चुनावी तयारी मुख्य एजेन्डा रहने जनाइएको छ ।














