काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पुगिसकेकाले निष्पक्ष र छिटो न्यायिक प्रक्रिया हुनुपर्ने माग गरेको छ । शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेतृ सोबिता गौतम र नेता हरि ढकालले सञ्चारकर्मीसँग कुरा गर्दै अदालतको प्रक्रियामा हस्तक्षेप नगर्ने, तर सरकारले प्रतिशोध साँध्न नहुने बताए ।

नेतृ गौतमले लामिछानेको मुद्दामा निष्पक्ष र छिटो ट्रायल हुनुपर्नेमा जोड दिँदै अदालतको प्रक्रियाप्रति विश्वास व्यक्त गरिन् । उनले अघिल्लो सरकारले प्रतिशोध साँधेको र विभिन्न दलका नेताहरूले समेत यो कुरा अनौपचारिक रूपमा स्वीकार गरेको बताइन् । ‘मुद्दा अदालतमा पुगेपछि सरकारको हस्तक्षेप सोचनीय छ। हामीले कहिल्यै दबाब दिएनौँ, अदालतले न्याय गर्छ भन्नेमा ढुक्क छौँ,’ उनले भनिन् ।
सरकारले निष्पक्ष काम गर्नुपर्ने र प्रतिशोधको नीति नलिनुपर्ने उनको भनाइ थियो । नेता ढकालले लामिछानेलाई प्रधानमन्त्री बनाउन जेलबाट निकालिएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारे । उनले लामिछानेको सुरक्षा संवेदनशीलताका कारण जेल पुगेको बताए । साथै, उनले छठ पर्वपछि समाजमा हार्दिकता कायम गर्न सद्भाव यात्रा सुरु गर्ने जानकारी दिए । पार्टीमा नयाँ आउनेहरूका लागि ठाउँ रहेको र महाधिवेशनसम्म केन्द्रीय समितिमा ६० जना मनोनयन गर्न बाँकी रहेको उनले बताए ।














