किएभ । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रका केही भागहरूमा शनिवार बिहानै भएको रुसी आक्रमणले युक्रेनको ऊर्जा प्रणालीमा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले पछिल्लो बिजुली कटौतीले कति मानिसहरूलाई असर गरेको छ भनेर बताएनन् तर युक्रेनी ऊर्जा फर्म डिटिइकेले यस क्षेत्रको राजधानीका केही भागहरूमा विद्युत् सेवा अबद्ध भएको रिपोर्ट गरेको छ । डिटिइकेका अनुसार आक्रमणका कारण यस क्षेत्रका दुई लाख ४० हजार भन्दा बढी घरहरूमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।
“हिजो रात, दुश्मनले ओडेसा क्षेत्रमा ऊर्जा र नागरिक पूर्वाधारमा आक्रमण गरेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ ।,” क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममा भने ।
“विद्युत् क्षेत्रका इन्जिनियरहरूले बिजुली आपूर्ति पूर्ण रूपमा पुनस्र्थापना गर्न हरसम्भव प्रयास गरिरहेका छन्,” उनले भने । मस्कोले २०२२ मा आक्रमण गरेदेखि प्रत्येक हिउँदमा युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आएको छ । विद्युत् ग्रिडहरूमा हसने आक्रमणले लाखौँ घरहरूको बिजुली र ताप कटौती गर्दछ र किएभमा पानी आपूर्तिमा बाधा पुर्याउँछ ।
किएभले आक्रमणहरू मुख्य रूपमा नागरिकहरूविरुद्ध लक्षित भएको दावी गरेपनि रूसले युक्रेनले लगाएको आरोपको खण्डन गर्दै युक्रेनी सेनाले ऊर्जास्थलहरू प्रयोग गर्ने गरेको बताएको छ । ठूलो मात्रामा रुसी आक्रमणका कारण राजधानी किएभ र अन्य नौ क्षेत्रमा बिजुली कटौती भएको भोलिपल्ट शनिबारको अवरोध भएको हो ।
डिटिइकेले शनिवार बिहान भनेको छ, ‘आक्रमणपछि अवरुद्ध विद्युत् सेवा राजधानीका करिब आठ लाखभन्दा बढी घरहरूमा पुनस्र्थापना गरिएको छ ।’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रवारको रुसी आक्रमणलाई ‘शत्रुद्वारा गरेको उच्च क्षति’ को संज्ञा दिएका छन् भने उनले पश्चिमा देशहरूलाई मस्कोमाथि प्रतिबन्ध बढाउन आग्रह गरेका छन् ।











