काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक डामेका वीरेन्द्र भारती प्रदेशसचिव भएपछि अर्को लफडा शुरु भएको छ । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सचिव भएका वीरेन्द्र भारतीले नयाँ ट्रायल सेण्टर खोल्ने लाखौको चलखेल गरेपछि लफडा शुरु भएको हो । दशैंको मुखका नयाँ ट्रायल सेण्टरको सूचना निकालेका थिए ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा विगत एक महिनादेखि ठप्प भएको छ । यसबाट लाइसेन्स नभई नहुने तथा वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गरेका सेवाग्राहीहरू मारमा परेका बेला उनले नयाँ ट्रयाल सेण्टर दर्ता गराउनका लागि सूचना जारी गराएका थिए ।
यातायात व्यवस्था विभागका अनुसार जेनजी आन्दोलनपछि लाइसेन्स छाप्ने, नयाँ लाइसेन्सका लागि अनलाइनबाट निवेदन लिने, राजस्व बुझ्ने, लिखित तथा प्रयोगात्मक परीक्षा लिनेसम्बन्धी सबै काम बन्द भएको छ । यसैगरी भदौ २२ गतेभित्र सवारी चालक अनुमति पत्र लागि प्रयोगात्मक तथा लिखित परीक्षा पास गरेका तथा राजस्व बुझाउन नसकेका सेवाग्राहीले राजस्वसमेत बुझाउन पाएका छैनन् ।
चालकले प्रयोगात्मक परीक्षा पास गरेको मान्यतासमेत पाउन सकेका छैनन् । लाइसेन्ससम्बन्धी सबै काम बन्द भएपछि वैदेशिक रोजगारका लागि विभिन्न देशमा जान तयारी गरेका सेवाग्राहीले लाइसेन्स कार्ड पाउन सकेका छैनन् । लाइसेन्स छाप्न तयारी अवस्थामा राखिएको कार्ड तथा लाइसेन्स छाप्ने मेसिनसमेत जेनजी आन्दोलनका क्रममा जलेपछि लाइसेन्स छाप्ने काम स्थगित भएको छ । आन्दोलनबाट लाइसेन्ससम्बन्धी सर्भर तथा सिस्टमसमेत ध्वस्त भएको छ ।
एक दिनमा देशभरिका ४३ वटा यातायात व्यवस्था कार्यालयबाट नयाँ लाइसेन्स लिन अनलाइन सेवाबाट दुई हजार पाँच सयदेखि तीन हजारसम्म आवेदन आउने गरेको थियो । हाल करिब २० लाख सेवाग्राही लाइसेन्स कार्डका लागि प्रतीक्षा गरिरहेका छन् तर उनीहरूले लाइसेन्स कहिले पाउँछन्, त्यसको टुङ्गो छैन । विभागले सेवाग्राहीको मागअनुसार समयमा कहिल्यै पनि लाइसेन्स कार्ड दिन सकेको छैन । सवारी चालक अनुमति परीक्षा पास गरेको ५÷६ वर्षसम्म पनि जनताले लाइसेन्स पाउन सकेका छैनन् ।
तर सचिव भारतीको निर्दैशनमा नयाँ परीक्षा स्थल खोल्न जारी सूचना जारी गरिएको थियो । यातायात व्यवस्था कार्यालय, बनेपाले नयाँ परीक्षास्थल (ट्रायल सेन्टर) खोल्न १५ दिने सूचना निकालेको थियो । मिलोमतोबाट एउटा ड्राइभिङ स्कुललाई ट्रायल परीक्षा लिन अनुमति दिने उद्देश्यबाट सूचना निकालेको भन्दै ड्राइभिङ स्कुलसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाबाट व्यापक विरोध भएको थियो । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले बनेपाले निकालेको सूचना प्रकाशन गर्नका मन्त्रालयका सचिव वीरेन्द्र भारतीले सक्रियता देखाएका थिए ।
ड्राइभिङ स्कुल अफ नेपाल, काभ्रेका उपाध्यक्ष रुपेश काफ्ले, ड्राइभिङ स्कुल सङ्घ, ललितपुरका अध्यक्ष विष्णुराज खड्का, ड्राइभिङ स्कुल सङ्घ, भक्तपुरका अध्यक्ष रामभाइ बानिया तथा ड्राइभिङ स्कुल सङ्घ, काठमाडौँका अध्यक्ष रमेश खत्रीले संयुक्त विज्ञप्ति निकाली बडादसैंको मौका छोपेर यातायात व्यवस्था कार्यालय, बनेपाले परीक्षास्थल छनोटसम्बन्धी निकालेको सूचना निकालेको भन्दै विरोध गरेका थिए ।
टेन्डर खरिद–बिक्री प्रक्रियामा कर्मचारीहरू र सरकार नै लागेको आशङ्कालाई बलियो बनाएको उनीहरूको भनाइ छ । ‘दसैँ पर्वको पूर्व सन्ध्यामा नियतवश नै एउटा मात्र ट्रायल सेन्टरबाट परीक्षा दिन अनिवार्य गराएर काभ्रेपलान्चोक जिल्लाभर क्रियाशील र सबै मापदण्ड पुगेका अरू ड्राइभिङ स्कुलहरू सबैलाई बाइपास गर्ने सर्तहरू राखी यातायात व्यवस्था कार्यालयको वेबसाइटमा नदेखिने गरी सूचना प्रकाशन गरेकाले उक्त सूचना तत्काल रद्द गर्न सरकारसँग माग गर्छ,’ विज्ञप्तिमा भनिएको थियो ।











