
काठमाडौं । अर्थतन्त्र चलायमान बनाउने विश्वाससहित केन्द्रीय बैंकले सेयर बजारमा जाने कर्जालाई खुकुलो बनाउँदै लगेको छ । कर्जा विस्तारमा भूमिका खेल्ने विभिन्न नीतिहरूलाई लचक बनाउँदै राष्ट्र बैंकले लगानीकर्ताको मनोबल बढाउने गरी नीति तय गरिरहेको छ ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा प्रभाव पार्ने नीतिहरूमा कडाइ गरेका थिए । त्यसपछि सेयर बजारको ३ हजार २ सय विन्दुबाट ओरालो यात्रा सुरू भएको थियो । तर अहिले गभर्नर विश्व पौडेलले अधिकारीले कडाइ गरेका नीतिहरूमा लचकता बनाउँदै आएका छन् । बजारका जानकार तथा लगानीकर्ताहरूका अनुसार, अधिकारीले बिराएको बाटोलाई पौडेलले सम्हाल्दै अगाडि बढिरहेका छन् ।
अर्थतन्त्रको ऐनाका रूपमा सेयर बजार रहेको भाष्य यदाकदा सुनिएको कुरा हो । सो भाष्यलाई यथार्थतामा बदल्न पौडेलको लचक नीतिहरूले भूमिका खेल्ने देखिन्छ । राष्ट्र बैंकले पछिल्लोपटक धितो कर्जाको सीमा खारेज गरेको छ । चार वर्षअघि मौद्रिक नीतिमार्फत तोकिएको ‘सेयर धितो कर्जा सीमा’ हटेपछि सेयर बजारले केही समयको लागि राहत अनुभव गरेको छ ।
आव २०७८–७९ को मौद्रिक नीतिमार्फत ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइएको थियो ।
जोखिम घटाउने र साना लगानीकर्ताको पहुँच बढाउने उद्देश्यले गरिएको यो व्यवस्था क्रमशः परिमार्जन हुँदै गयो । त्यसपछि विभिन्न समयमा संशोधन गर्दै आव २०७९–८० मा ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँको सीमा यथावत राखेको थियो ।
त्यसपछि २०८० असोजमा बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म सेयर कर्जा लिन सक्ने व्यवस्था गरेको थियो ।
तत्कालीन अर्थमन्त्री प्रकाशशरण महत लगायतको तीव्र दवावमा यो व्यवस्थामा संशोधन गरिएको थियो । तत्कालीन गभर्नर अधिकारीले २०८१ साउनमा ल्याएको मौद्रिक नीतिमार्फतसेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरे पनि व्यक्तिगत तर्फ भने १५ करोड नै राखेका थिए । त्यसपछि २०८२ साउनमा गभर्नर पौडेलले नै व्यक्तिगत लगानीकर्ताले लिने सेयर कर्जाको सीमा १५ करोडबाट २५ करोड रुपैयाँ पु¥याएकोमा असोज २२ गतेबाट हटाइएको हो ।
यसले सेयर बजारमा लगानीकर्ता समेत बढ्ने देखिन्छ । पछिल्लो निर्णयमा राष्ट्र बैंकले कर्जा सीमा नै पूर्णरूपमा खारेज गर्दै बजारमा नयाँ सन्देश दिएको छ । तर, यो राहतले बजारलाई दीर्घकालीन स्थायित्व दिन सक्छ कि सक्दैन भन्ने प्रश्न भने अझै बाँकी छ ।
केन्द्रीय बैंकको नीति पछिल्ला वर्षहरूमा सेयर बजारमैत्री हुँदै गएको छ । लगानीयोग्य रकम प्रशस्त भएपछि केन्द्रीय बैंकलाई सेयर बजारप्रति लचिलो बन्न सहज भएको हो । बैंकहरूले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न नसकेको अवस्थामा सेयर बजारमार्फत पूँजी परिचालन गर्ने प्रयास भइरहेको छ ।
यस्ता नीतिहरूले बजारमा तरलता बढाउने, लगानीकर्ताको मनोबल सुदृढ गर्ने र वित्तीय प्रणालीमा आत्मविश्वास जगाउने उद्देश्य राख्छन् । तर, नीति निर्माणको यो क्रमले सन्तुलन गुमाउने जोखिम पनि साथसाथै छ ।
जानकारहरू सेयर बजारमा लचकता अपनाउने नीतिहरू तत्कालीन राहतका उपाय मात्र हुन् । जबसम्म प्राथमिक बजार सुदृढ हुँदैन, दोस्रो बजारले स्थायित्व पाउन सक्दैन । प्राथमिक बजार कमजोर हुँदा नयाँ पूँजी प्रवाह घट्छ, जसको प्रत्यक्ष असर दोस्रो बजारमा देखिन्छ ।
हाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रतीक्षामा रहेका धेरै कम्पनीहरूले प्राथमिक सेयर निष्काशनका लागि अनुमति पाएका छैनन् । यदि यी कम्पनीहरूलाई छिटो अनुमति दिइयो भने बजारमा नयाँ लगानीकर्ता र पूँजी प्रवेश गर्ने बाटो खुल्ने विज्ञहरूको तर्क छ ।
राष्ट्र बैंकको हालको लचकता सकारात्मक सन्देश हो, तर यो दीर्घकालीन समाधान होइन । बजार सुदृढीकरणका लागि प्राथमिक बजारमा सुधार, पूँजी परिचालन प्रक्रियाको तीव्रता र लगानीकर्ताको विश्वास पुनर्निर्माण आवश्यक छ ।
राष्ट्र बैंकको पछिल्लो निर्णयले सेयर बजारमा तुरुन्तै उत्साह ल्याए पनि बजारका संरचनात्मक समस्या समाधान नभएसम्म दीर्घकालीन सुधार कठिन देखिन्छ । प्राथमिक बजार मरेतूल्य हुँदा दोस्रो बजार गुलजार बन्न नसक्ने तर्क यथार्थमै आधारित देखिन्छ । यस अर्थमा, अबको आवश्यकता केवल लचक नीति होइन, समग्र पूँजी बजार सुदृढीकरणको दिशामा सरकार, राष्ट्र बैंक र धितोपत्र बोर्डबीचको समन्वित रणनीति हो ।
बढ्दै सेयर कर्जा
पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम धेरै हुँदा सेयर बजारका लगानीकर्तालाई सहज भएको छ । बैंकबाट सस्तो ब्याजदरमा सेयर धितो कर्जा लिएर सेयरमा लगानी गर्नेहरूको संख्या बढ्दै गएको छ । अन्य क्षेत्रमा कर्जाको माग अपेक्षित हुन नसक्दा सेयर बजारतर्फ लगानीका लागि बैंक तथा वित्त संस्था अग्रसर भएका हुन् ।
गत आर्थिक वर्षसम्ममा बैंक तथा वित्त कम्पनीहरूले कुल ७३ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ खर्ब ८१ अर्ब २० करोड कर्जा प्रवाह गरेका छन् । यसमध्ये एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ कर्जा सेयर धितोमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।
अघिल्लो आवको तुलनामा गत आवमा सेयर धितो कर्जा ५० अर्ब ६० करोड रुपैयाँले बढी प्रवाह भएको हो । अघिल्लो आवसम्ममा बैंक तथा वित्त कम्पनीहरूले ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवमा बैंक तथा वित्त संस्थाहरूले निक्षेप ६४ खर्ब ९५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
गत आवमा बैंकहरूको कर्जा बढेसँगै बढेको सेयर कारोबारबाट १६ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकर सरकारले संकलन गरेको छ । सुस्त रहेको सेयर बजार २०८१ साउनदेखि क्रमशः लयमा आउन थालेको थियो । राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत सेयर बजारसम्बन्धी नीतिमा लचकता अपनाएको थियो । यसले गर्दा अघिल्लो आवमा १ हजार ८ सय बिन्दुमा झरिसकेको सेयर बजार २०८१ साउनमा बढेर ३ हजार बिन्दुसम्म पुगेर फेरि घटेको थियो ।
गत आवमा वाणिज्य बैंकहरूले मात्र एक खर्ब १६ अर्ब ८० करोड रुपैयाँ कर्जा सेयर धितोमा प्रवाह गरेका छन् । अघिल्लो आवमा यो रकम ७० अर्ब ३४ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा वाणिज्य बैंकहरूले ४६ अर्ब ४६ करोड रुपैयाँ सेयर धितो कर्जा बढाएका हुन् । विकास बैंकहरूले गत आवमा १९ अर्ब ५४ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी गर्दा वित्त कम्पनीहरूले ४ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका थिए ।
यसैगरी अघिल्लो आवमा विकास बैंकहरुले ६ खर्ब १० अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गर्दा वित्त कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ प्रवाह गरेका थिए । बैंकहरूले पछिल्लो समय ब्याजदर घटाएरै पनि सेयर बजारमा लगानी बढाइरहेका छन् । अहिले बैंकहरूले सेयर धितो कर्जा ६–७ प्रतिशत ब्याजदरमै दिँदै आएका छन् ।
यसबीच राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा ल्याएको छ । व्यक्तिगत कर्जा सीमा २५ करोड रुपैयाँसम्म पु¥याइएको छ भने संस्थागत लगानीकर्ताका लागि कुनै सीमा तोकिएको छैन । यसले थप लगानी प्रवाहलाई प्रोत्साहन गरेको देखिन्छ ।
बैंकरहरूले तरलता बढाएर लागत बढाउनुभन्दा लाभ हुने क्षेत्रतर्फ कर्जा दिनु नै उत्तम ठान्न थालेका छन् । त्यसैले सेयर धितो कर्जा विस्तार गर्न आक्रामक देखिएका छन् ।














