कैलाली । कैलाली जिल्लामा पछिल्लो समय जघन्य अपराधका घटनामा वृद्धि भएको छ । असोज २३ गते राति गोदावरी–१०, खमौराका ३५ वर्षीय शेरबहादुर चौधरीलाई छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका भाइ विकास मल्लले ज्यान मार्ने धम्की दिएपछि उनी भागेका थिए ।

भोलिपल्ट असोज २४ गते उनको शव ओलानी र गोदावरी नदीको दोभानमा फेला प¥यो । प्रहरीका अनुसार अत्तरियाको डान्स बारमा भएको झगडापछि यो घटना भएको हो ।
मृतकका आफन्तले लक्की र विकासविरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन् । यस्तै, असोज २४ गते राति घोडाघोडी–८ जरैमा १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरी टाउको झोलामा बोकेर प्रहरी चौकी पुगे । प्रहरी अनुसन्धानले मदिरा सेवनपछिको विवादमा यो हत्या भएको खुल्यो । त्यस्तै, असोज २६ गते गोदावरी–४ मा डडेल्धुराका ३२ वर्षीय गौरव ऐरमाथि शुभम होटलमा १५ जना युवाले चक्कु प्रहार गरी हत्या प्रयास गरे ।
प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०८०/८१ मा कर्तव्य ज्यानका ११, ज्यान मार्ने उद्योगका २६, जबरजस्ती करणीका ८७, लागू औषधका ३१५ र सार्वजनिक अपराधका ३५१ घटना दर्ता भएका छन् ।
आर्थिक वर्ष ०८१/८२ मा कर्तव्य ज्यानका १५, ज्यान मार्ने उद्योगका ३९, लागू औषधका ४६९ र जबरजस्ती करणीका ८७ घटना भएका छन् । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिनामा कर्तव्य ज्यानका ८, ज्यान मार्ने उद्योगका ८ र लागू औषधका ६४ घटना दर्ता भएका छन्, जुन अघिल्ला वर्षको तुलनामा उच्च हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अधिकांश अपराध चिनजानका व्यक्ति वा आफन्तबीचको मनमुटाव र सानोतिनो झगडाबाट हुने गरेका छन् । मदिरा सेवन यस्ता घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ रहेको छ । प्रहरीले आपराधिक समूहको पहिचान र नियन्त्रणमा कडाइ गरिरहेको छ ।














