काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् । शनिवार अखिल नेपाल ट्रेड युनियन महासङ्घको कार्यक्रममा बोल्दै उनले देश बचाउन जस्तोसुकै त्याग गर्न पनि तयार रहेको दाबी गरे ।

पार्टीभित्र उनको नेतृत्व छाड्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘मलाई अध्यक्ष पद सानो कुरा भइसक्यो। देशको लागि जे बलिदान गर्नुपर्छ, म तयार छु,’ प्रचण्डले भने । उनले केन्द्रीय समितिलाई आयोजक समितिमा र अध्यक्षलाई संयोजकमा रूपान्तरण गरी महाधिवेशनसम्म परिवर्तनको लागि तयार रहेको बताए ।
उनले सबैलाई राष्ट्रको हितमा त्याग गर्न आह्वान गरे । प्रचण्डले माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन रोक्ने प्रयासले देशमा अराजकता निम्त्याउन सक्ने चेतावनी दिए ।
उनले सरकार निर्वाचनप्रति गम्भीर रहेको विश्वास व्यक्त गरे । वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट बाहिरिएको उल्लेख गर्दै उनले संविधान संशोधनमार्फत यसलाई सही बाटोमा ल्याउनुपर्ने बताए ।
उनले समाजवादी मोर्चामा आबद्ध वाम शक्तिहरूबीच चाँडै औपचारिक एकता हुने घोषणा गरे । साथै, जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गरे । उनले क्रान्तिका उपलब्धिहरू संस्थागत गर्न मित्र र शत्रु शक्ति छुट्याउनुपर्नेमा जोड दिए ।














