
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुल बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको हो । उनको साथबाट फ्रिज र उफरसमेत बरामद गरिएको गौशालाका एक प्रहरी अधिकृतले बताए ।
२३ भदौमा भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीमाथि राज्य पक्षले दमन गर्दा एकैदिन कम्तीमा २२ जनाको गोली लागेर ज्यान गएको थियो । त्यसको भोलिपल्टको प्रदर्शनले विध्वंसको रुप लिएको थियो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित महत्वपूर्ण संरचनामा आगजनी भएको थियो ।
शीर्ष नेता, पार्टी कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका घरमा समेत आगजनी, तोडफोड र लुटपाट भएको थियो । अहिले प्रहरीले आन्दोलनका नाममा घुसेका ‘अपराधिक मानसिकता र पृष्ठभूमिका’ व्यक्तिहरुबारे अनुसन्धान गरिरहेको छ । जेनजी आन्दोलनका मृतकको संख्या हाल ७६ पुगेको छ ।














