
काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।
गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेर हत्या गरेको उनका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।
घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ,।














