काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भङ्ग भएको बताएका छन् ।आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको बताए ।

ओलीले आफू देश र जनताप्रति पूर्ण बफादार भएको दाबी गरे । कसैलाई मन परे पनि नपरे पनि उक्त बफादारिता नछाड्ने उनले बताए । ओलीले भने, ‘शान्ति सुव्यवस्था थियो । भङ्ग भएको छ । निर्धक्क वातावरण थियो । त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै थियो । त्यो भताभुङ्ग भएको छ । अस्थिरतामा गएको छ,’ ओलीले भने, ‘अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’














