
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भनिएको पत्र सार्वजनिक गर्न चुनौती दिएका छन् ।
आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलमा ओलीले यस्तो चुनौती दिएका हुन् । प्रचण्डले हालै एक कार्यक्रममा ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस पत्र पढेको दाबी गरेका थिए । जवाफमा ओलीले प्रचण्डको दाबीलाई खण्डन गर्दै भने, “मैले सुशीला कार्कीलाई कतै सिफारिस गरेको छु भने प्रमाण देखाइदिए हुन्छ । प्रचण्डजीसँग पत्र छ भने सार्वजनिक गरून् ।”
उनले आफूले यस्तो कुनै सिफारिस नगरेको दाबी गरे । यद्यपि, उनले कामचलाउ प्रधानमन्त्रीको हैसियतमा देशको परिस्थितिलाई ध्यानमा राखी राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनका लागि सिफारिस गरेको स्वीकारे । ओलीले राष्ट्रपतिलाई गरेको सिफारिसको विवरण पनि खुलाएका छन् ।
ओलीका अनुसार, यस्तो छ उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिस :
वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर, संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाटै अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।














