काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक उपसभापति गोपालमान श्रेष्ठले मुलुकमा जारी राजनीतिक र सामाजिक समस्याको समाधानका लागि राजसंस्थासहित सबै पक्षको सहभागितामा तत्काल सर्वपक्षीय संवाद गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

ललितपुरको झम्सिखेलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निषेधको राजनीति त्यागी सहकार्य, सहअस्तित्व र संवादमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । राष्ट्रको समस्या राजनीतिक दलहरू भित्रैबाट समाधान खोज्नुपर्छ,उनले भने, राजसंस्था, परम्परागत शक्ति, जेनजी आन्दोलन, फरक मतधारी समूह र सबै पक्षलाई समेटेर संवाद गर्न ढिला गर्नु हुँदैन ।
उनका अनुसार बाह्य हस्तक्षेपबाट देशलाई जोगाउन पनि आन्तरिक सहमति आवश्यक छ। “सर्वपक्षीय भेला गरेर मुलुकको संकट समाधान गर्न ढिलाइ गर्नु हुँदैन,” श्रेष्ठले जोड दिए।
श्रेष्ठले आफू कांग्रेसका अग्रज नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको मार्गदर्शनअनुसार दलभन्दा माथि उठेर राष्ट्रिय एकताको पक्षमा काम गर्न तयार रहेको बताए । उनले कांग्रेस पार्टीसँग सर्वपक्षीय भेलाको नेतृत्व गर्न आग्रह गर्दै आफू त्यसमा सक्रिय समन्वयकारी भूमिका खेल्न तयार रहेको जानकारी दिए ।
लोकतन्त्रमा फरक मतलाई सम्मान गर्नु आवश्यक भएको बताउँदै उनले जेनजी आन्दोलनका सवालहरू गम्भीरतापूर्वक लिनुपर्ने सुझाव पनि दिए । साथसाथै, उनले एनजीओहरूले दलहरूलाई विस्थापित गर्ने प्रवृत्ति लोकतन्त्र र राष्ट्रियतामाथिको खतरा भएको चेतावनी दिए ।
“राजनीतिक दलविरुद्ध निषेधको नीति चलिरहेको छ,” श्रेष्ठले भने, “यसले लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकतामा खतरा उत्पन्न गरिरहेको छ ।”














