काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरमा स्थापना गरिएको सङ्ग्रहालयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले सङ्ग्रहालय अझै पूर्णरूपमा विकास नभएको र यसको गरिमा थप बढाउन सरकारको भूमिका अपरिहार्य रहेको बताए।
उनले डिल्लीरमण रेग्मी पुस्तकालयजस्तै देवकोटा सङ्ग्रहालयलाई पनि सरकारले नै सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनले नेपालमा सङ्ग्रहालयप्रतिको सांस्कृतिक चेतनाको कमीले पनि यस्तो संरचनाको प्रभाव घटेको उल्लेख गरे।
कार्यक्रममा देवकोटाको साहित्यिक योगदान, मिथक र कल्पनाशीलता, र बहुभाषिक कविता वाचनमार्फत उहाँको स्मरण गरिएको थियो। प्रतिष्ठानले यस वर्ष पहिलोपटक राजवंशी भाषामा कविता वाचनसमेत समावेश गरेको थियो।














