Logo
Logo

फिनसेन फाइल्सले बैंकिङ क्षेत्रमा तरंग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज । शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न खुलेपछि विश्वभरी नै तरंग उत्पन्न भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो, जसमा नेपालका आठ बैंक समेत मुछिएका छन् ।

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका शंकास्पद कारोबारलाई बाहिर ल्याएको छ । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । त्यही जानकारीका आधारमा विश्वभरी थप खोज गरेर आइतबार त्यससम्बन्धि समाचार बाहिर ल्याइएको छ ।

सो रिपोर्टअनुसार ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार भएको छ । संगठित अपराधमा संलग्न कतिपय व्यक्तिहरुले बैंकहरुबाटै त्यसको कारोबार गर्दै आएको दाबी गरिएको छ । तर, त्यसलाई पुष्टि भने हुन सकेको छैन । नेपालमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंंकबाट शकास्पद कारोबार भएको उल्लेख छ ।

शंकास्पद कारोबारमा संलग्न कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् ।

रिपोर्ट अनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसारपसार भएको छ । तर, त्यो कारोबार कारोबार अवैध नै भन्न सकिएको छैन । यसबारे नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि विस्तृत छानबिन थालेको छैन ।

‘फिनसेन’ ले यी कारोबारलाई ‘सस्पिसियस एक्टिभिटिज रिपोर्ट’ शंकास्पद गतिविधि सम्बन्धी प्रतिवेदन (सार) को सूचीमा राखेको छ । ती विवरणहरू केलाउँदा नेपालका बैंकहरू ‘आफ्ना प्रत्येक ग्राहकले गर्ने कारोबारको निगरानी राख्नुपर्ने’ अनिवार्य दायित्व पूरा गरेका छैनन् । यसले सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाललाई ‘थप बदनाम’ र ‘उच्च जोखिमयुक्त मुलुकको सूचीमा पार्ने चुनौती’ थपेको छ । विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटक–पटक भएको देखिन्छ । यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले । तर, क–कसले त्यसरी तस्करी गरे भन्ने खुल्न सकेको छैन ।

‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, सबैभन्दा बढी रकम ल्याउने र लैजाने शंकास्पद कारोबार र ओसारपसारमा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । त्यस्तो कारोबार गर्दा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशस्थित स्ट्याण्डर्डकै शाखाहरू प्रयोग गरेको छ । कतिपय कारोबारमा अन्य बैंकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ । अन्य बैंकहरुको कारोबार पनि शंकास्पद देखिएको छ ।

केही समयअघि नेपाल एसबिआई बैंकबाट नक्कली कम्पनी खोलेर भारतमा पाँच करोड पठाइएको खुलेको थियो । त्यसमा बैंकका धेरै कर्मचारीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र बिशेष सरकारी वकिल कार्यालयले जोगाएको थियो ।

हाल आठ बैकको शकास्पद कारोबार देखिएपनि सबैले गलत गरेका छन् भन्ने प्रष्ट प्रमाण देखिएको छैन । यो रिपोर्टले बेलायत, अमेरिका जस्ता देशमा समेत तरंग उत्पन्न भएको छ । ती देशका ठूला बैंकले समेत अवैध कारोबारमा सहयोग गरेको देखिएको छ । नेपालमा पनि यो रिपोर्टले तरंग ल्याएको छ । यसले शंकास्पद कारोबारलाई थप निगरानी गर्न आँखा खोलिदिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्