Logo
Logo

भदौ २४ गतेको घटना पूर्ण फौजदारी अपराध हो: अध्यक्ष कार्की


1.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गत भदौ २३ गतेको आन्दोलन र २४ गतेको आगजनी तथा लुटपाटका घटनालाई फरक-फरक प्रकृतिको भएका छन् । 

भदौ २४ गतेको घटनालाई आन्दोलन नभई पूर्ण फौजदारी अपराध भएको बताउँदै उनले कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मङ्गलवार आयोजित भदौ २३ र २४ को घटनाको अन्तरक्रिया कार्यक्रममा कार्कीले आयोग आफैँले फौजदारी अनुसन्धान नगर्ने बताए । 

उनले प्रहरीलाई आफ्नो कानुनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न आयोगले पहिले नै भनिसकेको र यसमा कुनै ढिलाइ हुन नहुने बताए ।

‘२३ गतेको घटना एउटा आन्दोलनको क्रममा भयो । त्यो छुट्टै घटना हो । तर २४ गतेको घटना आगजनी, लुटपाट र डकैतीसहितको पूरै फौजदारी अपराध हो । यसमा कुनै विवाद छैन ।’ उनले भने, ‘यो घटना सबैले देखेको र आयोगले सोहीअनुसार छानबिन गरिरहेको छ । फौजदारी कसुरको अनुसन्धान गर्ने काम नेपाल प्रहरीको हो। हामीले घटनाको समग्र छानबिन गरी दोषीमाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिस गर्ने हो ।’

उक्त घटनाबाट भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सरकारी कार्यालय, सर्वोच्च अदालत, संवैधानिक निकाय, उद्योगी–व्यवसायी र सर्वसाधारणबाट विवरण माग गरिएको बताउँदै उनले क्षतिपूर्तिको दाबी प्राविधिक रूपमा प्रमाणित हुनुपर्ने उनले बताए ।

‘हामीले सबै क्षेत्रबाट क्षतिको विवरण माग गरेका छौँ र व्यक्तिगत रूपमा पनि नोक्सानी व्यहोरेकाहरुलाई फाराममार्फत आवेदन दिन भनेका छौँ । घर जल्यो भनेर एक करोडको क्षति भयो भन्दैमा हुँदैन । त्यसको आधिकारिक निकायबाट प्राविधिक मूल्याङ्कन हुनुपर्छ ताकि भोलि अदालतमा पनि प्रमाण लागोस्,’ उनले भने ।

आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको कार्कीको भनाई छ । उक्त विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उनले बताए ।

‘भ्रष्टाचारी हो भन्दैमा कसैको घर जलाउन पाइँदैन। अपराधी हो भनेर हामी आफैँले काट्न–मार्न पनि पाइँदैन । त्यसका लागि कानुन छ । कानुनबमोजिम कारबाही हुनुपर्छ,’ उनले भने । उच्च मनोबल राख्ने गरी प्रहरीलाई काम गर्ने वातावरण बनाउन र उनीहरुले गरेका सही कामलाई सबैले समर्थन गर्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्