काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा भदौ २३–२४ गतेको ‘जेनजी आन्दोलन’ले सरकार मात्र ढालेन, पुरानो राजनीतिक संरचनाको जरा नै हल्लाइदियो । युवा पुस्ताको यो विद्रोह भ्रष्टाचार, नातावाद, कृपावाद र सुशासनको अभावविरुद्धको विस्फोट थियो । यस आन्दोलनले ७६ जनाको ज्यान लियो, सयौं घाइते भए र देशभर ठूलो क्षति पुर्यायो।

आन्दोलनपछि संसद् विघटन भई सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र फागुन २१ गतेका लागि निर्वाचन तोकियो । तर, यो राजनीतिक परिवर्तनले सबैभन्दा बढी असर पुर्याएको दलमध्ये एक हो, नेपाली कांग्रेस ।
अहिले कांग्रेसभित्र पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब, महाधिवेशनको किचलो र सम्भावित फुटको बहस चर्कनुको मूल कारण आन्दोलनबाट उठेका अपूर्ण एजेन्डा, आन्तरिक गुटबन्दी र युवा पुस्ताको असन्तुष्टि बनेको छ ।
१३औँ महाधिवेशनपछि शेरबहादुर देउवा सभापति बनेका थिए । नियमित महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने भए पनि जेनजी आन्दोलनले विशेष महाधिवेशनको माग बढाएको छ ।
जनेजी आन्दोलनपछि नेतृत्वले अब विश्राम लिनुपर्छ भन्ने दबाब बनायो । देउवाले पनि कार्यवाहकका रूपमा पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिँदै नेतृत्व छाड्ने संकेत गरिसकेका छन् । तर, त्यही बीच पार्टी फुटको हल्ला भित्रैबाट चलाइएको छ।
संस्थापनपक्षीय नेताहरूको तर्क छ– महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल समाप्त भइसकेकाले उनीहरूका हस्ताक्षरमा विशेष महाधिवेशन बोलाउने राजनीतिक औचित्य छैन । त्यसैले मंसिरमा नियमित महाधिवेशन नहुने र ५४ प्रतिशत हस्ताक्षर भए पनि त्यसको वैधानिकता विवादित हुने उनीहरूको अडान छ।
तर, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला र उनीहरू नजिकका नेताहरू भने मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।
गगनले त महाधिवेशनका लागि गरिएको हस्ताक्षर गर्ने हैसियत राख्दैनौ भन्नु तानाशाही, आत्मकेन्द्रित र ठालुवाद भएको बताएका छन् ।
अनलाइन खबरलाई दिएको अन्तवार्तामा भनेका छन्– ‘महाधिवेशन प्रतिनिधिहरूले निर्वाचित गरेको केन्द्रीय समितिको अवधि हुने, तिनलाई निर्वाचित गर्ने प्रतिनिधिहरूको चाहिँ अवधि नहुने ? यो कुतर्क त हुँदै हो, त्यसमाथि सिंगो पार्टी र महाधिवेशन प्रतिनिधिहरूकै अपमान गरियो । किनकि, प्रतिनिधिहरूले विधानले दिएको अधिकार प्रयोग गरेर नै हस्ताक्षर गरेका हुन् ।
तिमीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने हैसियत राख्दैनौ भन्नु तानाशाही, आत्मकेन्द्रित र ठालुवाद हो । यसलाई मैले कुन रूपमा बुझ्छु भने, हामीहरू दुईरपाँच जना छौं, पार्टी भनेकै हामी हौं, हामीबाहेक कोही पनि छैन, हामीबाहेक कसैले जानेको छैन भन्ने सोचको परिणाम हो । त्यसैले यस्तो कुतर्कको उत्तर दिइराख्न आवश्यक ठान्दिनँ ।’
अर्का महामन्त्री विश्वप्रकाशले पनि विशेष महाधिवेशन नडाक्दा आन्तरिक असन्तुष्टि बढ्दै गएपनि पार्टी नफुट्ने र आफूले जिम्मा लिने समेत बताएका छन् । उनले कांग्रेस फुटोस् भन्ने र धूप हाल्नेका सपना पूरा नहुने दाबी गरेका छन् ।
नेपाल तरुण दलको स्थापना दिवसका क्रममा प्रतिक्रिया दिँदै उनले भने, “कांग्रेस फुटोस् भनेर जसले धूप हालिरहेका छन्, ती सपना पूरा हुँदैनन्। कांग्रेस एकढिक्का रहन्छ । कसैले विग्रहमा लैजाने सोच्यो भने पनि त्यसलाई ठिक ठाउँमा ल्याउने जिम्मेवारी सभापति र महामन्त्री दुवैको हो ।”
रस्साकस्सीको निर्णायक चरण
यिनै दुई धारबीच बिहीबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि नै “तत्काल महाधिवेशन गर्नुपर्छ” र “अहिले गर्न हुँदैन” भन्ने पक्षबीच तीव्र रस्साकस्सी छ।
यदि मंसिरसम्म महाधिवेशन हुन सकेन भने, बहुमत सदस्यले माग गरेको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने चुनौती पार्टीअगाडि उभिएको छ।
तर, संस्थापन पक्षले त्यसलाई ‘पार्टी फुटाउने चाल’को रूपमा व्याख्या गरिरहेको छ । उनीहरूका अनुसार, चुनावअगाडि विशेष महाधिवेशनमा जानु पार्टीलाई फुटको दिशामा धकेल्ने कदम हुनेछ।
दोस्रो पक्ष भने विशेष महाधिवेशन नै संगठनलाई नयाँ ऊर्जा दिने उपाय ठान्छ। पार्टीले औपचारिक रूपमा नबोलाए, उनीहरू छुट्टै भेला गरेर प्रक्रिया अघि बढाउने तयारीमा छन् । यही कारण कांग्रेसभित्र फुटको हल्ला झन् तीव्र भएको हो।














