काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग अहिले एकता गर्नु पार्टी विसर्जनको मार्ग हुने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई समाप्त गर्ने गल्ती नगर्न नेताहरूलाई सचेत गराए । उनले भने, ‘हिजो कांग्रेसतिर लागेर दक्षिणपन्थी भड्कावलाई साथ दियौँ, अहिले पार्टी कमजोर भयो भन्दैमा माओवादीतिर मिसिन खोज्नु आत्मविसर्जन हो ।’
खनालले अध्यक्ष माधवकुमार नेपाललाई पनि हतारमा माओवादीसँग एकता नगर्न आग्रह गरे । उनले भने, ‘पार्टी कार्यालय चलाउन गाह्रो भयो, कार्यकर्ता घटे, मत कम आयो भनेर अर्को पार्टीमा मिसिनु समाधान होइन, त्यो विसर्जन हो ।’
उनले माओवादीसँग एकता गर्ने निर्णयले एकीकृत समाजवादीभित्र विभाजन र असन्तोष बढाउने चेतावनी समेत दिए । खनालले प्रश्न गर्दै भने, ‘पार्टी फुटाएर माओवादीमा मिसिनु तपाईँलाई सुहाउँछ ?’
सम्बोधनकै क्रममा खनालले अध्यक्ष माधव नेपालसँग राजीनामाको माग समेत गरेका छन् । भ्रष्टाचार आरोपको मुद्दा दर्ता भइसकेपछि नै राजीनामा दिन सुझाव दिएको स्मरण गर्दै उनले भने, ‘यो बैठकबाट पनि म भन्छु-तपाईँले राजीनामा दिनुपर्छ ।’ खनालका अनुसार, जसले सांसद र संसदीय दलको नेता बन्ने योग्यता गुमाइसकेका छन्, उनले पार्टीको नेतृत्व निरन्तर गर्नु नै अनुपयुक्त हुन्छ ।














