काठमाडौं । मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका सम्भावित प्रभावबारे अध्ययन गर्न प्रधानमन्त्री सुशीला कार्कीले श्रम मन्त्रालयलाई निर्देशन दिएकी छिन्।

प्रधानमन्त्रीले बिहीबार बिहान सचिव कृष्णहरि पुष्करलाई बोलाएर मापदण्डको प्रभाव र आवश्यक कदमबारे जानकारी लिएकी हुन्। सचिव पुष्करले मलेसियाको निर्णय कूटनीतिक रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयबीच समन्वय गरी आवश्यक पहल गर्न पनि आग्रह गरेकी छिन्।
मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य हो। हाल नेपालका करिब १२०० वैदेशिक रोजगार व्यवसायीमध्ये ९०० मलेसियासँग सम्बन्धित छन्। नयाँ मापदण्डले करिब दर्जनजति ठूला कम्पनी मात्र मलेसियामा कामदार पठाउन योग्य हुने अनुमान गरिएको छ।














