काठमाडौं । सरकारले फिर्ता गरिएका देशमा तत्कालै राजदूत नियुक्त नगर्ने भएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने जानकारी गराएका हुन् ।

अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने उल्लेख गरे । प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिकाका साथै कार्य मूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताए ।
त्यस्तै मन्त्रिपरिषद्ले आगामी मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औँ इन्टरपोलको महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको छ । त्यस्तै वैदेशिक रोजगार, अदालतका मुद्दा व्यवस्थापक, वैदेशिक अध्ययन अनुमति सेवा, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा, बन्दिको पहिचान लगायतका लागि विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।
मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)














