काठमाडौं । जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स यूएईले नेपाली कामदारका लागि भिसा कडाइ गरेपछि ४ हजारभन्दा बढी नेपाली श्रमिकको वर्किङ भिसा रोकिएको छ।

यूएईको श्रम मन्त्रालयबाट अनुमतिपत्र मोलपाए पनि उनीहरूले भिसा पाउन सकेका छैनन्। म्यानपावर व्यवसायीहरूका अनुसार सबै प्रक्रिया पूरा गरेका श्रमिकले २५–३० हजार रुपैयाँ खर्च गरिसकेका छन् तर भिसा रोकिने क्रममा उनीहरू आर्थिक संकटमा परेका छन्।
यूएईले जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै भिसा कडाइ गरेको हो । यसअघि बन्द गरिएको भिजिट भिसा आंशिक रूपमा खुले पनि वर्किङ भिसामा कडाइ यथावत छ।
नेपाल सरकारले भने यसबारे औपचारिक जानकारी नआएको बताएको छ । व्यवसायीहरूले सरकार र वैदेशिक रोजगार संघ दुवैले आवश्यक कूटनीतिक पहल नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।














