Logo
Logo

जाँचबुझ आयोगद्वारा कञ्चनपुरमा भएको क्षतिको विवरण सङ्कलन


504
Shares

कञ्चनपुर । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा भएको क्षतिको जाँचबुझ आयोगले विवरण सङ्कलन थालेको छ । आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले कञ्चनपुरमा आगजानी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरेका हुन् । 

The current image has no alternative text. The file name is: gauri.jpg

आयोगका सदस्य भण्डारी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाको विवरण सङ्कलन गरेका हुन् । सो क्रममा आयोगका सदस्य भण्डारीले आन्दोलनमा क्षतिग्रस्त महेन्द्रनगरस्थित निवर्तमान गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नेता निरुदेवी पाल र भीमदत्त नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्र विष्टको क्षतिग्रस्त घरको निरीक्षण पनि गरे। आयोगका सदस्य भण्डारीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रमुख एवं आन्दोलनका क्रममा पीडितहरुसँग अन्तरक्रिया गरे । 

अन्तरक्रियामा यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले आन्दोलनमा व्यक्तिका घर र सम्पत्ति आगजनी र लुटपाट भएको बताउँदै उक्त घटनाको छानबिन हुनुपर्ने बताए । ‘कुनै व्यक्ति भ्रष्टाचारमा संलग्न छ भने उसलाई कारबाहीको दायरामा ल्याउने हो तर यहाँ निजी सम्पत्तिमा आगजनी र लुटपाट भएको छ,’ उनले भने, ‘उक्त घटनाको छानबिन गरी दोषीलाई सरकारले कारबाही गर्नुपर्छ ।’ उनले आफ्नो घरमा आगजनी र लुटपाटबाट रु ६२ लाख बराबरको क्षति भएको बताए । छलफलमा सहभागी अन्य पालिकाका प्रमुखहरूले समेत उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका थिए । 

सदस्य भण्डारीले आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरेर सरकारलाई सिफारिस गर्ने बताए । ‘आन्दोलनमा भएको क्षतिको कति क्षतिपूर्ति दिन सक्छ त्यो राज्यले गर्ला,’ उनले भने, ‘आयोगले राज्यलाई घटनामा भएको क्षति विवरण सङ्कलन गरेर सिफारिस गर्छ ।’ अन्तरक्रिया कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, आन्दोलनका क्रममा पीडित भएका परिवारका सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्