Logo
Logo

बृहत् प्रजातान्त्रिक मोर्चा आवश्यक : पूर्वसभामुख ढुङ्गाना


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १६ माघ पूर्वसभामुख दमननाथ ढुङ्गानाले बृहत् प्रजातान्त्रिक मोर्चा आवश्यक रहेको बताउनुभएको छ । 



प्रा डा भूपति ढकालका ‘सम्पन्न नेपालका सम्पन्नवान नेपाली कसरी बन्ने ?’ र ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठाबान काङ्ग्रेसको खोजी’ नामका दुई कृति विमोचन गर्दै आज उहाँले लोकतन्त्र प्रवद्र्धनमा देखिएका चुनौतीको सामना गर्न प्रजातान्त्रिक मोर्चाको आवश्यकता औँल्याउनुभएको हो । मुलुकका ऐतिहासिक घट्नाको नयाँ ढङ्गले विश्लेषण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै पूर्वसभामुख ढुङ्गानाले राजनीतिक दलका गतिविधि इतिहासको चर्चासँगै भविष्यमुखी पनि हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुक र पार्टीको समृद्धिका लागि निष्ठावान् काङ्ग्रेसको आवश्यकता रहेको बताउँदै सभ्य समाज निर्माण र सदाचार कायम राख्न प्रा डा ढकालका दुवै पुस्तक उपयोगी भएको बताउनुभयो । 

काङ्ग्रेस केन्द्रीय सदस्य एवं सांसद भीमसेनदास प्रधानले पार्टीमा निष्ठावान् र अवसरवादी दुई थरीका काङ्ग्रेस भएको उल्लेख गर्दै निष्ठावान्ले नै पार्टीलाई जोगाइराखेको धारणा व्यक्त गर्नुभयो । पार्टीका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले ढकालले दुवै कृतिमा देश र पार्टीका बारेमा चिन्ता व्यक्त गरेको उल्लेख गर्दै मुलुक समृद्ध बनाउने व्यक्ति थोरै भए पनि पुग्ने बताउनुभयो । 

नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका प्रा डा ढकालले गत निर्वाचनमा काङ्ग्रेस पार्टीले हार व्यहोरे पनि काङ्ग्रेसको सिद्धान्तले जितेको उल्लेख गर्दै आगामी दिनमा एक ढिक्का भएर अघि बढ्न सुझाव दिनुभयो । उहाँका करीब दुई दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् । 
(रासस) ः

प्रतिक्रिया दिनुहोस्