काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका छन् । उनि गत मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका थिए।

उनलाई त्यहाँस्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गरेको उनको सचिवालयले जनाएको छ ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार पुगेका थिए । उनले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरे।
साथै उनले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले मङ्गलबारनै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए । उनले बुधबार त्यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरे ।
यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डल कतार पुगेका थियो ।














