Logo
Logo

जेनजीले कांग्रेसलाई पुनर्गठनको अवसर दियो: एनपी साउद


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जेनजी आन्दोलनले कांग्रेसलाई आत्ममूल्यांकन र पुनर्गठनको अवसर भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै साउदले जेनजी आन्दोलनले युवासम्म पुग्ने र उनीहरूको मुद्दा सम्बोधन गर्ने नयाँ अवसर दिएको बताए ।

The current image has no alternative text. The file name is: np-soud.gif

साउदले भने, ‘जेनजी आन्दोलनले पार्टीका सभापति शेरबहादुर देउवा र उहाँको परिवारदेखि देशभरका कांग्रेस कार्यालय र नेताहरूको सम्पत्तिसम्म विध्वंस गरेको छ । तर यो आन्दोलनले हामीलाई युवासम्म पुग्ने र उनीहरूको मुद्दा सम्बोधन गर्ने नयाँ अवसर पनि दिएको छ । ’ पार्टी र देश दुवै गम्भीर सङ्कटमा रहेको भन्दै साउदले कांग्रेस नेतृत्वलाई सङ्गठन पुनःजीवनका लागि युवा–केन्द्रित पुनरुत्थानमा जोड दिन आग्रह गरे । 

साउदले विश्वका विभिन्न देशका जेनजी आन्दोलनहरूको तुलनात्मक उदाहरण दिए । ‘बङ्गलादेश, श्रीलङ्का, मेडागास्करदेखि इस्ट टिमोरसम्म कतै पनि जेनजी आन्दोलन संस्थागत भएर राज्य सञ्चालनमा पुगेको देखिँदैन । नेपालमा पनि अन्ततः राजनीतिक दलहरूकै माध्यमबाट परिवर्तन सम्भव हुन्छ,’ साउदले भने ।

नेपालमा अहिले अस्थिरता गहिरिँदै गएको बताउँदै उनले भने, ‘नेपालमा अहिले पनि अस्थिरता गहिरिँदै छ। संसद् विघटन भइसकेको छ । सरकार ढलेको छ । हाम्रो पार्टी समेत त्यसको प्रभावबाट मुक्त छैन ।’ 

पछिल्ला वर्षहरूमा कांग्रेसभित्र ४० वर्ष मुनिका युवाको सहभागिता दयनीय भएको बताउँदै उनले भातृ संस्था र सङ्गठनहरू निष्क्रिय भएको बताए । जेनजी आन्दोलनले कांग्रेसका लागि युवासँग संवाद गर्ने नयाँ ढोका खोलेकाले यो मौका गुमाउन नहुने साउदको भनाइ छ ।

साउदले पार्टी विधानमा सभापति दुई कार्यकालभन्दा बढी हुन नपाउने प्रावधान रहेको बताउँदै अब विधानअनुसार समयमै अधिवेशन गर्नुपर्ने बताए । ‘चार वर्षभित्र अधिवेशन हुनुपर्ने व्यवस्थालाई पालना नगर्दा विवाद गुणक प्रभावका साथ फैलिएको छ । यही कारण अहिलेको बहसले पार्टी अस्तित्व र एकताको सङ्कट निम्त्याएको छ,’ साउदले भने ।

पार्टीभित्र असन्तुष्ट नेताहरूको मागलाई बेवास्ता गर्न नहुने सुझाव दिँदै साउदले भने, ‘केन्द्रीय समितिले आफ्ना कमजोरी महसुस गरेर हस्ताक्षर गर्ने युवा नेताहरूसँग वार्ता र छलफल ढिला गर्नु हुँदैन ।’

मंसिरभित्र महाधिवेशन सम्भव नदेखिए पनि फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको अवस्थाअनुसार महाधिवेशनको समय तय गर्न सकिने साउदको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्