काठमाडौं । नेपाल वायुसेवा निगम नेवानिले इकोनोमी क्लासका यात्रुलाई चिनजान वा पहुँचका आधारमा बिजनेस क्लासमा ‘अपग्रेड’ गर्ने कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूलाई बिहीबार परिपत्र जारी गर्दै सो सम्बन्धी अधिकार प्रयोग नगर्न निर्देशन दिएका हुन् ।
कालाखेतीद्वारा जारी परिपत्रमा भनिएको छ, “बजार व्यवस्थापन विभाग तथा यात्रुसेवा विभागका निर्देशकहरूको जब डिस्क्रिप्सनमा रहेको बिजनेस क्लास अपग्रेड सम्बन्धी अधिकार कार्यान्वयन नगर्नूरनगराउनू हुन निर्देशन दिइन्छ ।”
निगमले स्पष्ट पारेको छ — अधिकार क्षेत्रभन्दा बाहिर गई कसैले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा अपग्रेड गरे वा गर्न लगाएको पाइएमा आर्थिक तथा विभागीय कारबाही गरिनेछ ।
नेवानिमा पहुँच र परिचयका भरमा टिकट अपग्रेड गरिदिने प्रथाले लामो समयदेखि बदनाम गर्दै आएको भन्दै निगमले यसप्रति कडाइ गर्ने जनाएको छ ।
निमित्त महाप्रबन्धक कालाखेतीले भने, “अब यस्तो अभ्यास गर्नेहरूलाई कुनै छुट दिइने छैन, शुद्ध पारदर्शी प्रणालीमार्फत मात्र सेवा प्रवाह गरिनेछ ।”














