बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लामो समयदेखि निष्क्रिय बनेको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स छपाइको शुभारम्भ गरेका छन्।

बनेपास्थित श्रीखण्डपुरमा रहेको केन्द्रमा शुक्रबार औपचारिक रूपमा लाइसेन्स छपाइ कार्य सुरु गरिएको हो। मन्त्री खरेलले “वर्षौँदेखि धुलाम्मे मेसिन र उपकरणको धुलो टकटक्याएर” स्वदेशमै छपाइ सुरु गर्न पाउनु सरकारको ठूलो सफलता भएको बताए।
उनका अनुसार यो कदमले २८ लाख थान ड्राइभिङ लाइसेन्स छपाइलाई तीव्रता दिनेछ र यसबाट विदेशी मुद्राको अर्बौँ खर्च बचत हुनेछ। नयाँ लाइसेन्समा क्यूआर कोडसहित ३४ प्रकारका सुरक्षा विशेषता रहने छन्, जसले ट्राफिक प्रहरीले अफलाइनमै स्क्यान गरी जाँच गर्न सक्ने व्यवस्था हुनेछ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानालेकेन्द्रमा जडित अत्याधुनिक मेसिनबाट ड्राइभिङ लाइसेन्ससहित नागरिकता, भिसा, हुलाक टिकट र लालपूर्जाजस्ता संवेदनशील कागजात पनि छाप्न सकिने बताए।
केन्द्रमा हालसम्म करिब तीन अर्ब रुपैयाँ लगानीभइसकेको छ। पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ छ महिनाभित्र पूरा गर्ने लक्ष्य लिइएको छ। मन्त्री खरेलले यस कार्यलाई “राष्ट्रिय आत्मनिर्भरता र सुशासनतर्फको ठोस कदम” भनेका छन्।














