Logo
Logo

आइपिएल दुबईमा, बाजी काठमाडौंमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । एक सातादेखि इन्डियन प्रिमियर लिग(आईपिएल) चलिरहेको छ । कोरोना महामारीका कारण यसपटक दुबई र शारजहामा चलिरेको सो आईपिएलको चर्चा काठमाडौंमा पनि व्यापक बनेको छ । विश्वका सबैजसो स्टार क्रिकेटरहरु रहेको आईपिएल क्रिकेट प्रेमीहरुको लागि महाकुम्भ नै हो । जसमा नेपाली क्रिकेटर सन्दीप लामिछाने समेत आबद्ध छन् ।

क्रिकेटप्रेमी मात्र नभई बुकीका खेलाडीहरुको लागि पनि आईपिएसलमा ठूलो चासो हुने गरेको छ । क्रिकेटमा बाजी लगाएर उनीहरुले करोडौं कमाउने गर्दछन् । यस्ता समूह नेपालमा पनि सक्रिय छन् । यो वर्ष पनि गोप्य रुपमा यस्तो धन्दा चलिरहेको भए पनि प्रहरीले यसमा चासो नदिएको स्रोत बताउँछ ।

विगतमा ठूलो मात्रामा बाजी खेलाउने नागराज भनिने अमृत अग्रवाल हाल फरार छन् । दुई वर्षअघि महानगरीय अपराध महाशाखाले प्रतिस्पर्धी समूहको प्रभावमा परी उनलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । उनलाई पक्राउ गर्ने क्रममा महाशाखाका प्रहरीले अर्काे समूहबाट मोटो रकम हात पारेका थिए । नागराज धरौटीमा छुटेका उनी विदेश भागेको स्रोत बताउँछ ।

त्यस्तै विगतमा पक्राउ परेर छुटेका गौरव तिवारी, भूपेन कुँवर, दिनेश बोगटी, अञ्जन केसी, बलराम सापकोटामध्ये कतिपय अहिले पनि पुरानै धन्दामा छन् । अनलाइनमार्फत गोप्यरुपमा उनीहरुले यस्तो धन्दा चलाउने गरेका छन् । काठमाडौैंमा क्रिकेटमा मारवाडी समुदायका व्यवसायीले पनि करोडौं बाजी राख्ने गरेका छन् । भारतीय अन्डरवल्र्ड समूहसँग आबद्ध व्यक्तिहरुले उनीहरुलाई खेलाउने गरेको स्रोत बताउँछ । गुन्डा नाइके दावा लामा यसअघि भागेका थिए । अहिले उनको समूह समेत सक्रिय रहेको सूचना प्रहरीमा पुगेको छ । यस्तो धन्दामा संलग्न अधिकांशको उच्च प्रहरी अधिकारीसँग साँठगाँठ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्