काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको बताएका छन् । बिहीबार राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमामा बोल्दै करिब २ महिनाको अवधिमा आफूले शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याएको बताएका हुन् ।

जेनजी युवाहरू समेतको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्षको स्थापना गरेर सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई सहजीकरण गरिएको अर्यालले बताए । उनले भने, ‘फेरि पनि यस्तै रक्तपातपूर्ण अवस्था आउँछ कि भन्ने त्रास थियो, हामी त्यस्तो अवस्था आउन नदिनेतर्फ लाग्यौँ ।’
आन्दोलनमा क्षति पुगेको नेपाल प्रहरीको ४६५ युनिटहरु मध्ये ४४८ वटा सञ्चालनमा आइसकेका उनले बताए । उनले भने, ‘त्यस्तै क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ वटा इलाका प्रशासन कार्यालयहरूको सेवालाई सुचारु गरिएको छ ।’
प्रदर्शनमा उच्छृङ्खल गतिविधिमा संलग्न ४२९ जनालाई पक्राउ गरेर विभिन्न मुद्दा शीर्षकमा १६८ वटा मुद्दा दर्ता गरिएको अर्यालले बताए । उनले भने, ‘देशका विभिन्न कारागारबाट १४ हजार ५५४ कैदीबन्दीहरु फरार भएकोमा अहिलेसम्म ९ हजार ५४१ जना फिर्ता ल्याइसकिएको छ ।’ मन्त्री अर्यालका अनुसार ५ हजार १३ जना कैदीबन्दी फिर्ता आउन बाँकी छन् ।














