Logo
Logo

सुध्रिएन सशस्त्र, रोकिएन तस्करी, जालो तोड्न प्रहरीले चौकी इन्चार्ज फे¥यो


- दृष्टि न्युज/संवाददाता


बुटवल, १३ असोज । सिद्धार्थनगर नगरपालिका वार्ड नं. २ मेउडिहवा र मायादेवी गाउँपालिका ३ बनगाईबाट प्रहरीले असोज ५ गते सोमबार भारतबाट अवैध रुपमा ल्याएको गहुँ, चिनी र प्याज बरामद ग¥यो । करिब १ लाख ८७ हजार मूल्य पर्ने ती सामान तस्करहरुले अबैधरुपमा नेपाल भित्र्याएका थिए । असोज ४ गते पनि रोहिणी १ बाट मटर, चिनी, सरफ, सुर्ति, प्याज, धाराको टुटी लगायत १ लाख ३१ हजार बराबरको सामान बरामद भयो । असोजकै २ गते मर्चवार तेनुहवाबाट चिनी, प्याज, धनिया, सरफ, मोबाइल कभर, रेडबुल लगायतका १ लाख ३८ हजार मूल्यका सामान बरामद भए । असोज १ मै रोहिणी ७ बाट १ लाख मूल्य बराबरको र भदौ ३१ मा ओमसतिया ४ बाट १० लाख ५० हजार मूल्यको अवैध समान बरामद भयो ।

फाइल तस्बिर

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका सामानहरु बरामद गरिएको यो तथ्यांक हेर्दा प्रहरी तस्करी नियन्त्रणका लागि जोडबलका साथ लागेको भान हुन सक्छ । तर यो पुरै भ्रम हो । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र नेपाल प्रहरीको मिलेमोतोमा जिल्लामा ब्यापक तस्करी हुने गरेको छ । सेटिङ्ग नमिल्दा मात्र आक्कलझुक्कल देखाउनकै लागि बरामद गरिन्छ । सेटिङ्ग नमिलाएसम्म ५÷७ हजार भन्दा बढी मूल्यका सामान नेपाल भित्र्याउने प्रयत्नै हुँदैन । किनभने तस्करी नियन्त्रणकै लागि सशस्त्रको सीमा सुरक्षा बलको घेरा, गस्ती, घुमुवा र जनपद प्रहरीका घुमुवा तथा गस्तीबाट बच्न अपवाद छाडेर असंभव नै हुन्छ ।

करिब एक बर्ष यता रुपन्देही जिल्ला तस्करीका निम्ति सबैभन्दा ठूलो अखडा बनिरहेको थियो । जिल्ला प्रहरी प्रमुख फेरिएसँगै केहि समयका लागि सेटिङ्ग रोकिने विश्वास अहिलेसम्म जारी छ । जिल्लाको करिब ६० किलोमिटर खुल्ला सीमानामध्ये करिब तीन दर्जन पक्की÷कच्ची सडकबाट तस्करी हुने गरेको छ । सीमा सुरक्षाको पहिलो घेरामा रहेको सशस्त्र प्रहरीका सीमा क्षेत्र आसपाससमेत गरी १७ वटा पोष्ट छन् । सूचना संकलनका लागि घुमुमा पनि परिचालित छन्, गश्ती गर्न गाडी कुदिरहेका छन् । सशस्त्र प्रहरीलाई सेटिङ्ग नमिलाएसम्म पहिलो घेरा पार गरी अबैध सामान पास गराउन असंभव जस्तै हुने तस्करीमा संलग्न ब्यक्तिहरु नै बताउँछन् । सशस्त्र प्रहरीलाई मात्र सेटिङ्ग मिलाए जनपद प्रहरीले छोपिहाल्ने उनीहरुको भनाइ छ । दुवै प्रहरीलाई नियमित रुपमा रकम नबुझाए सीमा पार गराएर भैरहवा–बुटवलमा लगेपनि गोदामबाटै छापा मार्ने वा अर्को लट तस्करी गर्दा समातिन्छन् ।

नियमित जसो सेटिङ्गमा तस्करी भैरहेकोमा गत चैत १२ देखि भएको लकडाउनले केही समय रोकियो । तर, दुई महिनापछि सबै उस्तै बनेको छ । शुरुवातमा तरकारीजन्य पदार्थबाट शुरु भएको तस्करी अहिले झन् फस्टाउँदै गएको छ । लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्द भएकाले मानव तस्करी पनि मौलायो, सँगसँगै अन्य वस्तुहरुको पनि भैरहेको छ ।

तस्करहरुले कहिले जिल्लाको पूर्वी रोहिणी क्षेत्र, कहिले बगाहा, कहिले मर्चवार लगायतका नाका परिवर्तन गरेर सामान ओसार पसार गरिरहेका छन् । बगाहा, सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी नाकाबाट मोबाइल, कपडा, मोटर पार्टस, हार्डवेयर र खाद्यान्न बढी मात्रामा तस्करी हुने गरेको छ । रातभर सामान ओसारेर गोदाम भर्ने र गाडीबाट भैहरवा, बुटवललगायत अन्य शहरहरुमा सप्लाई हुने गरेको छ । तस्करीका लागि साइकल, अटो रिक्सा, मोटरसाइकल, छोटा हात्ती, ट्याक्टर, मिनीट्रक प्रयोग हुँदै आएका प्रत्यक्षदर्शी बताउँछन् । रुपन्देहीमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ति हो । यस्तै, मोटर पार्टस्, ब्याट्री, खसीबोका, भैंसी, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ ।

सामान समातिन्छ, मान्छे भगाइन्छ

तस्करीमा सेटिङ्ग नमिलाई सामान ओसार्नेलाई प्रहरी तथा सशस्त्र प्रहरीले कहिलेकाहीँ समात्ने पनि गरेको छ । तर, यसरी समातिएको सामानले तस्कर र प्रहरीलाई झन् नजिक्याउने काम गर्ने बताइएको छ । सामान समातेपछि त नमिलेको सेटिङ्ग पनि मिल्न थाल्छ–एक ब्यवसायीले बताए । उनको दावी अनुसार अबैध समान समातेपनि तस्कर पक्राउ नपर्नुको मुख्य कारण यहि हो । कहिलेकाहि सेटिङ्ग मिल्न नसक्ने जस्तो देखे वा यदाकदा तस्करीमा संलग्न मानिसलाई भने पक्राउ गरी भन्सार पठाउने गरिएको पनि ती ब्यवसायीले जानकारी दिए ।

सशस्त्रद्धारा होम डेलिभरी

भैरहवा र आसपास क्षेत्रमा घरासयी सामान चाहिएमा सीमा बन्द भएपनि कुनै चिन्ता छैन । स्थानीय बजारमा पाइने भन्दा कम मूल्यमा सशस्त्र प्रहरीले घरमै डेलिभरी दिने गरेको छ । टेलिभिजन सेट, मोबाइल, बाथरुम वा धाराका सामानहरु ५÷७ हजार खर्च दिनुपर्छ, घरमै आइपुग्छन् । नयाँ निर्माण भैरहेका घरहरु वा अन्य ठाउँहरुमा सादा पोशाकका सशस्त्रले गाडीमै सामान पु¥याइदिने गरेका छन् । तपाईलाई कुन कम्पनीको कति इन्चको टिभी चाइयो भन्नुस, नौतनवाको पसलको रेटमा ५ हजार खर्च थप्नुपर्छ– सशस्त्रसँग समान मगाएका पक्लिहवाका स्थानीयले संवाददातासँग भने ।

सीमा सुरक्षा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक तेज पोखरेल भने सशस्त्रले तस्करी धन्दालाई संरक्षण गरेको कुरालाई अस्वीकार गर्छन् । खुल्ला सीमानाको फाइदा उठाउदै तस्करीको कोशिस हुने गरेको भए पनि सशस्त्र प्रहरीले रोक्दै आएको उनको दावी छ । पोखरेलले आ.व.२०७५÷७६ मा तीन करोड, २०७६÷०७७ मा चार करोड ३६ लाख र चालु आ.ब.को दुई महिनामा ७७ लाखको अबैध समान बरामद गरी भन्सार चलान गरिएको जानकारी दिदैं भने–खुल्ला सीमानाले गर्दा रातभर पालमा बसेर समेत तस्करी नियन्त्रणमा काम गरेका छौं ।

तस्करीका बिषयमा आइरहेका गुनासो वा समाचारहरु आफूले नजिकबाट नियालीरहेको हालै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखमा सरुवा भएर आएका एसपी प्रवीण पोखरेलले बताए । अपराधिक गतिविधि र तस्करी रोक्ने प्रतिवद्धता जनाउँदै एसी पोखरेलले भने – सीमा क्षेत्रका सबै चौकी इन्चार्ज फेरिइसके । उनले सादा पोशाकका सबै घुमुवा हटाउन लागेको पनि बताए । अहिलेसम्म के कसो भयो, मलाई थाहा भएन, तर अब प्रहरीको तस्करीमा संलग्नता रहँदैन – दृष्टिसँग पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्