काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो ठूलो गल्ती भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्दै उनले २०६८ सालदेखि नै बुढा नेताहरूलाई हटाएर युवा नेतृत्व ल्याउनुपर्छ भन्दै आएको स्मरण गरे । तर, महाधिवेशनमा सभापति नलडी महामन्त्री पदमा प्रतिस्पर्धा गर्नु गल्ती भएको स्वीकार गरेका हुन् । उनले भने, ‘१४औँ महाधिवेशनमा देउवालाई सभापति बन्न दिनु नै सबैभन्दा ठूलो गल्ती भयो । मैले वर्षौंदेखि सिनियर नेतृत्वको जञ्जिर तोड्नुपर्छ भन्दै आएँ, तर उहाँकै महामन्त्री बन्नु गल्ती भयो ।’
उनले २०७९ को स्थानीय तह निर्वाचनमा एउटा पालिकामा गलत निर्णय लिएको विषय पनि उठाए । सभापतिलाई पहिल्यै चेतावनी दिएको तर सिनियर नेताहरूको दबाबमा मौन बसेकोमा पश्चात्ताप व्यक्त गरे । त्यस्तै, सोही वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको विरोध गर्दागर्दै निर्वाचन लड्नु र पुष्पकमल दाहाललाई मत नदिनुपर्नेमा मौन बसेकोमा पनि आत्मालोचना गरे । उनले भने, ‘गठबन्धनको विरोधमा सडक आन्दोलन गर्नुपर्थ्यो, नेता परिवर्तनको मुद्दा उठाउनुपर्थ्यो, तर गरिनँ । यी सबै गल्तीले अहिले ठूलो मूल्य चुकाइरहेका छौँ ।’














