
काठमाडौं । विभिन्न १० दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा रहेका नेताहरुको नामावली सार्वजनिक भएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित पार्टी नेकपाले निर्वाचन आयोगमा बुझाएको १३८ सदस्यीय केन्द्रीय समितिमा रहेका नेताहरूको नामावली सार्वजनिक भएको हो ।
गत कात्तिक १९ गते एकता घोषणा भएको दलको संयोजकमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।
तीन नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम छ । नेकपाले केन्द्रीय समितिमा ३३ प्रतिशत महिलालाई समेटेको छ ।














