काठमाडौँ । सम्पत्ति शुद्धीकरणका कारण नेपाल ‘ग्रे–लिस्ट’ मा रहेका बेला सरकारले बहुमूल्य धातु तथा मूल्यवान् वस्तुको कारोबारमा कडा नियमन लागू गरेको छ। छिट्टै ग्रे–लिस्टबाट बाहिरिन आवश्यक कदमस्वरूप आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गरेको हो।

नयाँ निर्देशनअनुसार बहुमूल्य धातु तथा वस्तुको कारोबार पूर्ण पारदर्शिता र स्वच्छ ढङ्गले गर्नुपर्नेछ। सम्पत्ति शुद्धीकरण, आतङ्ककारी गतिविधि तथा विनाशकारी हथियार निर्माण–विस्तार रोकथाममा सहयोग पु¥याउने उद्देश्यले कडाइ थालिएको विभागले जनाएको छ।
कुन–कुन धातु र रत्न कडाइको दायरामा :-
निर्देशनमा प्राकृतिक वा प्रशोधित जुनसुकै स्वरूपका सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम, डायमन्ड, सफायर, रुबी, इमेराल्ड, जेड, पर्ल, कोरन्डम, एकुमेरिन तथा यीमध्ये दुई प्रतिशत वा बढी मिसावट भएका धातु तथा तीबाट बनेका गहनालाई ‘बहुमूल्य वस्तु’ को रूपमा समेटिएको छ।
१० लाखभन्दा बढी कारोबार बैंकमार्फत मात्र
-सूचक संस्थाहरू अब आफ्नो नाममा रहेको बैंक खाताबाट मात्र कारोबार गर्न सक्नेछन्।
-व्यक्तिगत खाता, कर्मचारी वा परिवारको खाता प्रयोग गर्न पाउने छैन।
-१० लाख रुपैयाँ वा त्यसभन्दा बढीको बिक्रीमा ग्राहक वा उसको परिवारको बैंक खातामार्फत मात्र भुक्तानी लिनुपर्नेछ।
-कारोबारका सबै भुक्तानीमा विद्युतीय माध्यमलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।
विद्युतीय भुक्तानीको सीमा अपुग भएमा, सूचक संस्थाको सन्दर्भ उल्लेख गरी नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर सीमा बढाउने व्यवस्था मिलाइने निर्देशनमा उल्लेख छ।
उल्लङ्घनमा कडा कारबाही
निर्देशनको अवहेलना भएमा चरणबद्ध दण्डको व्यवस्था गरिएको छ—
-पहिलो पल्ट लिखित चेतावनी
-दोस्रो पल्ट १ लाख रुपैयाँ जरिवाना
-तेस्रोपल्टदेखि गम्भीरताका आधारमा १० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना
-आवश्यक परे थप कडा कारबाही
नयाँ नियमले बहुमूल्य धातु तथा रत्नको कारोबारलाई पारदर्शी, सुरक्षित र नियमनयुक्त बनाउने सरकारको अपेक्षा छ।














